धनकुटा । धनकुटाको बाघखोरमा हेलीप्याड निर्माण भएको छ ।

धनकुटा नगरपालिका–९ स्थित बेलहाराको बाघखोरमा वडा नं. ९ को कार्यालय, डिएन ग्रुप अफ कम्पनी र स्थानीयको आर्थिक सहयोग तथा नेपाली सेनाको भीमदल गणको प्राविधिक सहयोगमा हेली प्याड निर्माण भएको हो ।

आइतबार हेलीप्याड समुद्घाटन तथा हस्तान्तरण गर्दै नं. २ बाहीनी अड्डा हिलेका बाहिनीपति सहायक रथी रामकाजी थापाले विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीरखालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको बताए ।

सो अवसरमा उनले हेलीप्याड निर्माण सम्पन्न भए पनि सामान खरिदको ६० हजार रुपैयाँ आफूले भुक्तान गर्ने बताए । भीमदल गणबाट १० दिनसम्म पर्खाल लगाई हेलीप्याडको ढलानसहित सम्पूर्ण काम गरेको र हेलीप्याड निर्माणवाट स्थानीय बासिन्दाहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास लिइएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाको भनाइ छ । हेलीप्याड निर्माण भएपछि प्राकृतिक विपद्को समय तथा अन्य आपत्विपदमा सहज हुने निर्माण समिति संयोजक मनोज रायमाझीले बताए ।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिका वडा नं. ९ का अध्यक्ष टङ्क रोइला, निवर्तमान वडाध्यक्ष सन्दीप रायमाझी र धनकुटा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।