धरान । परिवर्तनका लागि सामाजिक अभियानको ५०औँ सामाजिक स्वास्थ्य क्लिनिक धरान–६ पानबारीमा सम्पन्न भएको छ ।

धरान ६ नम्बर वडा कार्यालयको सहकार्यमा सम्पन्न स्वास्थ्य क्लिनिकमा ७० जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । अभियानले दुई वर्षअघिदेखि पाक्षिक रूपमा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक त्रिभुवन बरालले जानकारी दिए ।

अभियानलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले सहकार्य गर्दै आएका छन् । हाल उनी विराट नर्सिङ होममा कार्यरत छन् । क्लिनिकमा उच्च रक्तचाप तथा मधुमेहको पनि जाँच गरिँदै आएको उनले जानकारी दिए ।

त्यस्तै विभिन्न औषधि व्यवसायीहरूको सहयोगमा निःशुल्क रूपमा औषधि पनि वितरण गरिँदै आएको छ । अभियानले स्वास्थ्य क्लिनिकमा आएका बिरामीहरूको सहजताका लागि निःशुल्क रूपमा मधुमेह, उच्च रक्तचापको पनि सेवा दिँदै आएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । अभियानले धरान उपमहानगरपालिका १ नम्बर वडास्थित मोडल कलेज परिसरबाट सेवा सुरु गरेको थियो ।