दल एउटै भए त ठीकै हो, दल फरक परे, अझ कार्यपालिकामा अल्पमत परे ठूला योजना वडामा भित्र्याउन गाह्रो छ- वडाध्यक्षलाई ।

वराहक्षेत्रको धार्मिक पर्यटन, जल पर्यटन, पर्यापर्यटनलगायत विविधतायुक्त सम्भावना बोकेको वराहक्षेत्रको वडा नं. १ र वडा नं. २ का वडाध्यक्ष क्रमशः किसन थापा र होमप्रसाद गौतम यतिबेला राजधानीको दौडाहामा छन् ।

विकासप्रेमी नेता र मन्त्रीका रुपमा चिनिएका र वराहक्षेत्रको भूगोल राम्ररी बुझेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष वराहक्षेत्र १ र २ का वडाध्यक्षले स्थानीय पर्यटन प्रवर्धनका लागि योजना माग गरेका छन् ।

बिहीबार मन्त्रालय पुगेका वडाध्यक्षद्वयले मन्त्री किरातीसमक्ष योजना माग गर्दा उनीहरुको मुहारमा खुसीको सन्चार भयो ।

भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री किरातीले भोजपुरको मुन्धुम ट्रेललाई चतरादेखि नै जोड्ने आफ्नो चाहाना रहेको बताउँदै आएका छन् । पहाडी जिल्लाको पुरानो प्रवेशद्वार वराहक्षेत्रको पर्यटन पूर्वाधारको विकास हुँदा समग्रक्षेत्रको विकासका संरचनाले गति लिने वडाध्यक्षद्वयसमक्ष मन्त्री किरातीले कुरा राखे । मन्त्री किरातीको सकारात्मक सहयोगको आश्वासन पाएका वडाध्यक्ष किसन थापाले आशाको सन्चार भएको बताए ।

Sudan kirati kisan thapa hom gautam

वराहक्षेत्र १ को तर्फबाट वडाध्यक्ष थापाले ऐतिहासिक धार्मिक तथा पौराणिक महत्वको क्षेत्र  महाभारत शृङ्खलामा अवस्थित हिन्दूपति राजाको दरबार वरपर रहेका पुराना ऐतिहासिक महत्वका भौतिक संरचना जीर्ण भई भग्नावशेषमा परिणत भएको जानकारी गराए ।  भवानी स्थानमा अवस्थित लालकोट गढी (किल्ला) क्षेत्रमा पुग्नको लागि पक्की सिंढी निर्माण गर्न आवश्यक रहेको बताए । सो क्षेत्रको भौतिक संरचनाको पुन:निर्माण तथा संरक्षण सम्बर्द्धन गर्नको लागि घेराबेरा गर्न उनले माग गरेका छन् ।

वडाका तर्फबाट योजना माग गर्दै चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजित गरी योजना सन्चालन व्यवस्थाको लागि अनुरोध गरिएको छ । लागतस्टिमेटसमेत तयार गरेर मन्त्रालय पुगेका वडाध्यक्ष थापाले हिन्दूपति दरबारको पुन:निर्माण तथा घेराबेरा गर्न १ करोड ७१ लाख ५१ हजार ९ सय ७७ रुपैयाँ विनियोजन गर्न माग गरिएको बताए ।

त्यस्तै भवानीस्थान लालकोट गढी (किल्ला) मा सिंढी निर्माण गर्नका लागि १ करोड ५५ लाख १३ हजार ८ सय ९२ रुपैयाँ विनियोजन गर्न माग गरिएको जानकारी दिए ।

पर्यटन मन्त्रालयसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत वडाध्यक्षले योजना माग गरेका छन् । वडाध्यक्ष थापाले सूर्यकुण्डमा अवस्थित सूर्यकुण्ड आधारभूत विद्यालयको भवन तथा पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न माग गरेका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बयरवनको मिलन चोक हुँदै सूर्यकुण्ड र विष्णुपादुका हुँदै धरानसम्म जोड्ने मोटरबाटोको स्तरोन्नति गर्नसमेत बजेट माग गरेका छन् ।

वराहक्षेत्र २ का वडाध्यक्ष होमप्रसाद गौतमले आफ्ना वडाका विकास निर्माण र भौतिक पूर्वाधारमा बजेट विनियोजन गरिदिन मन्त्रीसमक्ष माग गरिएको बताए ।