मोरङ जिल्लाको वन क्षेत्रमा पछिल्लो समय जङ्गली जनावरको चोरी तस्करी बढेको प्रहरीको तथ्याङ्कबाट देखिन्छ । पछिल्लो समय सुन्दरहरैंचाको मुनालझोडा जङ्गलमा हात्तीलाई गोली हानेर मारिएको पाइएको छ । मारिएको हात्तीको पुच्छर छैन । हात्तीको दाह्रा र पुच्छरका लागि तस्करहरुले मार्ने गरेका छन् ।

मोरङका जङ्गलहरुमा बँदेल, मृग, हरिण जस्ता जङ्गली जनावरको चोरी सिकारी भएको पनि पाइएको छ । यसरी बँदेल, हरिण मात्र होइन, हात्तीसमेतलाई गोली हानेर मार्न थालिनुले तस्करहरुको मनोबल बढेको बुझ्न सकिन्छ । वन र वन्यजन्तुको संरक्षणको जिम्मा पाएकाहरुले यो विषयमा गम्भीरता देखाउन ढिला गर्नु हुँदैन ।

डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा सिकारीबाट ८ वटा मृग घाइते भएका थिए । यस्तै निर बिरालो २, गिद्ध, सिलु बिरालो, कछुवा, भुँडीफोर निलगाई सिकारीको गोली लागेर १–१ वटा घाइते अवस्थामा भेटिएको तथ्याङ्कमा उल्लेख छ । सिकारी र तस्करले कति वन्यजन्तु मारे भन्ने स्पष्ट तथ्याङ्क भेट्न मुस्किल छ । चालु आर्थिक वर्षमा तस्कर समूहले तस्करी गर्न लागेको दुई थान हरिण र चित्तलको सिङ प्रहरीले बरामद गरेको थियो ।

आर्थिक वर्ष २०७८-०७९ मा सुगा पंक्षी २२ थान, हरिणको सिङ ५ थान र सुन गोहोरो बरामद गरेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । वन क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तुको संरक्षण गरिनुपर्नेमा यहाँको सामुदायिक, साझेदारी र पूर्व–पश्चिम राजमार्गमा रहेको चारकोसे वन क्षेत्रबाट वन्यजन्तुको चोरी–सिकारी व्यापकरुपमा बढेको पाइए पनि स्थानीय सरकार, प्रदेश सरकार वा सङ्घीय सरकारले चासो देखाएको पाइँदैन ।

मोरङको कानेपोखरी, लेटाङ, केराबारी, बेलबारी, पथरी र उर्लाबारीलगायतका क्षेत्रहरुमा रहेका वनहरुबाट धेरै मात्रामा वन्यजन्तुको चोरी सिकारी भइरहेको छ । यो क्षेत्रबाट दुर्लभ रेडपाण्डा, निलगाईलगायतका वन्यजन्तुहरुको समेत तस्करी हुने गरेको भेटिन्छ ।

वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न कडा कानून भए पनि तस्करी न्यूनीकरण हुन नसक्नु दुःखद् हो । नेपालको कानूनअनुसार संरक्षित वन्यजन्तु मार्न र तस्करी गर्न पाइँदैन । त्यसो गर्नु संरक्षित वन्यजन्तुको सिकार र तिनका अङ्गको ओसार–पसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र साइटिस महासन्धि १९७५ विरूद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ । तर, सरोकारवाला निकायले नियन्त्रण गर्न नसक्दा चोरी सिकारी र तस्करी बढिरहेको छ । 

नेपालले प्रकृति र वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्र तोकेको छ । देशभर राष्ट्रिय निकुञ्ज १२ वटा, सिकार आरक्ष एउटा, संरक्षण क्षेत्र ६५ वटा, मध्यवर्ती क्षेत्र १३ वटा र सिमसार १० वटा गरी कुल ३४ हजार ८ सय ५९ वर्ग किलोमिटर क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित छ । अहिले ठाउँ–ठाउँमा सामुदायिक वन उपभोक्ता समितिहरु सक्रिय छन् । यस्ता समितिहरुले वन्यजन्तुको संरक्षणमा ध्यान पु¥याउनु पर्ने आवश्यकता छ ।

त्यसका साथै वन कार्यालय, प्रहरी प्रशासन र स्थानीय सरकारले पनि वन्यजन्तु संरक्षणका लागि नीति बनाएर काम गर्नु आवश्यक छ । वन्यजन्तु देशका सम्पत्ति हुन्, तिनको संरक्षण गर्दा देशलाई नै फाइदा हुने हो । तस्करलाई निरूत्साहित गर्न सबै निकायको भूमिका आवश्यक पर्छ ।