अनिच्छित गर्भ बसेको अवस्थामा मात्रै तोकिएको संस्थाले गर्भपतन गराउने गरेको छ । जहाँ विशेषज्ञ चिकित्सक हुन्छन् भने गर्भपतन गराउने संस्था पनि दर्तावाला हुन्छ । एकातिर चिकित्सक पनि दर्तावाला हुन्छ भने संस्था पनि दर्ता गरिएको हुन्छ । जथाभावी रुपमा गर्भपतन गराउँदा ज्यान जोखिममा पर्नेमात्रै नभई ज्यानै जान सक्ने अवस्था आउँछ । यस्ता घटना तथा दुर्घटनाहरु हाम्रो समाजमा व्याप्त छन् । अर्कोतिर जथाभावी रुपमा गर्भनिरोधक औषधिको सेवन गर्ने पनि अर्को समस्याको रुपमा रहेको छ । जसले कालान्तरमा ठूलै रोगहरु निम्त्याउन सक्छ । जथाभावी रुपमा गर्भपतन गराउँदै मृत्यु हुने गरेको आँकडा हाम्रा अस्पतालहरु धेरै नै छन् । असुरक्षित तवरबाट गर्भपतन गराउँदा कयौँको ज्यान पनि गएको तथ्य हामीसामु छन् । गर्भपतन गराउँदा अवस्था हेरी मात्रै गराउने गरिएको छ । शिशुको अवस्था, आमाको अवस्थालाई मध्यनजर गरेर हानिलाई न्यूनीकरण गर्नका लागि मात्रै गर्भपतन गराउने अवस्थाहरु छन् । २८ हप्तासम्मको नानीहरुलाई फाल्न सकिने कानूनी व्यवस्था छ तर, त्यो अवस्था केही निश्चित अवस्थामा मात्रै छ । तर, हामीकहाँ पैसा कमाउने लोभमा परी अनुभव नभएका चिकित्सक र दर्ता नभएका चिकित्सक अझ भनौं फार्मेसीमा काम गर्ने सञ्चालकहरुले नै त्यस्ता कृत्यहरु गरिरहेको पाइन्छ । अर्कोतिर गर्भनिरोधक औषधिको पहुँच व्यापक हुँदा यसले पनि थुप्रै समस्याहरु नित्याउँदै गएको छ । अनियमित प्रयोग गर्दाको थुप्रै साइड इफेक्टहरु देखिने गरेका छन् । विशेषगरी यो औषधिको व्यापक प्रयोग गर्दा गर्भमा समेत असर पर्ने गरेको छ । महिलाको पाठेघरमा समस्या हुने र एउटा तहमा पुगेपछि बच्चासमेत नबस्ने समस्या हुने गरेको छ । त्यस्तै महिलाको प्रजनन् क्षमतामा ह्रास ल्याउने काम गर्दछ ।

धेरैले गर्भनिरोधक औषधि र गर्भपतन समाजलाई लुकाउनका लागि गर्ने गरेका छन् । त्यसबारे यथेष्ट जानकारी नभई नै गर्भनिरोधक औषधिको सेवन गर्ने गरेका छन् भने गर्भ बसेमा जुनसुकै स्वास्थ्य संस्थामा गई गर्भपतन गराउने गरेका छन् । गर्भपतन कस्तो अवस्थामा गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने मापदण्डहरु छन् । अनिच्छित गर्भ बस्न गएमा त्यसलाई नियन्त्रण गर्नका लागि गर्भपतन गरिन्छ । जस्तो हाडनाता करणी, बच्चाको कारणले आमाको ज्यान जाने अवस्था भएमा, बच्चा अस्वस्थ जन्मिन सक्ने अवस्था भएमा । यसको धनात्मक र ऋणात्मक दुवै फाइदा तथा बेफाइदाहरु छन् । तर, यसतर्फ ध्यान दिएको पाइँदैन । अर्कोतिर अनुगमनकारी निकायहरुले पनि यसतर्फ ध्यान दिएको पाइँदैन । नियमित अनुगमन गरिने हो भने यस्ता समस्या निराकरण हुन सक्छन् । गर्भनिरोधक औषधि पनि जथाभावी बिक्री गर्न अनुमति दिनुहुँदैन । जसरी मर्फिन अर्थात् क्यान्सरका बिरामीको दुखाइलाई काम गर्नका लागि औषधि दिइन्छ । त्यसैगरी चिकित्सकको ‘प्रेस्किप्सन’ मा मात्रै गर्भनिरोधक औषधि दिने व्यवस्था गरिनुपर्छ । कतिपयलाई कानूनी कुराहरुको पनि ज्ञान भएको पाइँदैन । के गर्नुहुन्छ ? के गर्नु हुँदैन भन्ने ज्ञान नहुँदा धेरै महिलाहरुले अकालमा ज्यान गुमाइरहेका छन् । भविष्यमा पनि क्यान्सर जस्ता प्राणघातक रोगहरुको सामना गर्नुपर्ने अवस्थाहरु सिर्जना हुन्छन् । मनपरि रुपमा औषधि सेवन गरी कतिपय बिरामीहरु सहरका ठूला अस्पतालमा आइपुग्छन् । जतिबेला ढिलो भइसकेको हुन्छ । यसकारण पनि यस्ता औषधिको दुरूपयोगलाई रोक्नका लागि राज्य पनि गम्भीर बन्नुपर्छ ।

अर्कोतर्फ मेडिकल हलहरुमा पनि गर्भपतन गराइदिने भन्दै गैरकानूनी रुपमा सञ्चालनमा आएको पाइन्छ । त्यसलाई सरकारले निणयन्त्रण गर्न सकेको छैन । नेपालमा यस्ता समस्या व्यापक छन् तर, सरकारले तथा सरकारी संयन्त्रले अनदेखा गरिरहेका छन् । सर्वप्रथम त यसको पहुँच तथा उपलब्धतामा सङ्कुचन गरिनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार महाशाखाले सुरक्षित गर्भपतनसम्बन्धी निर्देशिका नै जारी गरेको छ । एकातिर गर्भपतन गर्ने औषधिको सेवन गर्ने र अर्कोतिर तालिमप्राप्त स्वास्थ्यकर्मी नहुने समस्या पनि व्याप्त छ । यो पनि अनुगमनको अभावमा यस्ता कृत्यहरु हुँदै आएका छन् । गर्भपतन कस्तो अवस्थामा गराउने र नगराउने भन्ने विषयमा निर्देशिकाले स्पष्ट बोलेको अवस्था छ । गर्भपतन गराउँदा विशेषगरी सुरक्षित विधिहरु पनि छन् । ती सुरक्षित विधिहरु अपनाउनेतर्फ गएको पाइँदैन । गर्भपतनसम्बन्धी सेवा दिने संस्था मात्रै हैन, चिकित्सक पनि सूचीकृत हुनुपर्ने अवस्था हो । तर, हाम्रा गाउँघरमा त्यसो भएको पाइँदैन । अर्कोतिर गर्भनिरोधक औषधिहरुको सेवन पनि समस्या हो । यसले पनि समस्या निम्त्याइरहेको हुन्छ ।