धरान । ख्रीस्टमसको अवसरमा बुधबार धरान फुटसलमा पत्रकार र इसाई धर्मावलम्बीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पत्रकारको टोलीले आयोजक धरान ख्रीस्टीय समाजलाई १२–७ गोलअन्तरले पराजित गरेको छ । पत्रकारको तर्फबाट विकास राई, धीरेन लिम्बू, भोजराज श्रेष्ठ र दीपेश इसारा राईले गोल गरेका थिए भने आयोजकको तर्फबाट सन्जीव बान्तवा, दीपक राई, लोकेन्द्र राई, शिव साउद र जोम्स राईले गोल गरेका थिए ।

कार्यक्रममा नेपाल ख्रीस्टीय समाजका केन्द्रीय सचिव कुवेर गुरुङले ख्रीस्टमस इसाई धर्मावलम्बीको महत्वपूर्ण दिनको रूपमा रहेको बताए । उनले प्रभु येशु जन्मिएको पनि २०२३ सय वर्ष पुगिसकेको र संसारलाई मुक्ति दिने दाताको रूपमा रहेको बताए ।

यस्तै नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको र सबै धर्मलाई उत्तिकै महत्व दिएको अवस्थामा इसाईहरूको महान् चाडको रूपमा रहने ख्रीस्टमसमा पत्रकारलाई पनि बोलाई कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले यस्ता मैत्रीपूर्ण खेलले चिनजान साथै एकता र मित्रता कायम हुने बताए । समाजका अध्यक्ष गोविन्द राईको नेतृत्वमा फुटसल सम्पन्न भएको थियो ।