धनकुटा । धनकुटामा पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरूले आफूहरूलाई स्थानीय प्रशासनले हिरासतमा लिएर अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् ।

स्थानीय प्रशासनले विना कारण र पक्राउ पुर्जी विनै आफूहरूलाई अपहरणको शैलीमा ४ दिनदेखि हिरासतमा राखेको भन्दै उनीहरूले मानवअधिकारकर्मी एवम् स्थानीय सञ्चारकर्मीहरूलाई गुनासो गरेका छन् । फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, मानवअधिकार शान्ति समाज धनकुटाका अध्यक्ष एवम् पत्रकार महासङ्घ धनकुटाका सचिव हरिबहादुर लम्जेल, हुसाडेक नेपालका प्रतिनिधि खेमबहादुर थापा, संवाद समूह धनकुटाका संयोजक एवम् कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी, इन्सेक प्रतिनिधि ईश्वर थापा, कानून व्यवसायी एवम् अधिकारकर्मी नारयणजुन राईलगायतको टोलीलाई उनीहरूले गुनासो पोखेका थिए ।

स्थानीय प्रहरी प्रशासनले हिरासतमा राख्दा हदैसम्म अमानवीय व्यवहार गरेको भन्दै धनकुटाको सिँधुवाबाट पक्राउ परेका पहिचानवादी नेता सूर्य मादेनले गुनासो गरे । उनले जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासत अत्यन्तै साँघुरो कोठा रहेको र उक्त कोठामा १७ जनालाई एकै ठाउँमा राखेको बताए । मादेनले भने, ‘हामी मानवअधिकारकर्मी एवम् सञ्चारकर्मीहरूलाई भन्न चाहन्छौं कि प्रहरीले हामीलाई पिसाब फेर्नको लागि पनि बाहिर जान दिएन, सुत्ने कोठामै प्लाष्टिकको भाँडामा पिसाब फेर्न लगायो, यो कतिसम्म जायज हो, सरकारसम्म पुर्याइदिनुहोस् ।’

हिरासतमा रहेका अर्का पहिचानवादी नेता एवम् कियाचु धनकुटाका अध्यक्ष कमलसिंह तिगेला लिम्बूले भने, ‘हामीलाई प्रहरीले विना कसूर पक्राउ ग¥यो र नियन्त्रणमा लिएको ४ दिन बित्न लाग्दा पनि छोड्दैन, हामी न्याय खोज्न कहाँ जाऊँ ?’ उनले आफूहरूलाई प्रहरीले एक त साँघुरो कोठामा १७ जनालाई राख्दा शारीरिक यातना नदिए पनि अमानवीय व्यवहार गरेको भन्ने आफूलाई लागेकोले अधिकारकर्मीलाई जानकारी दिएको बताए । ‘अर्को खुल्ला कोठा हुँदाहँदै पनि एउटै कोठामा खाँदेर किन राखेको भन्ने प्रश्न स्थानीय प्रहरी प्रशासनलाई गर्न चाहन्छ’ु–तिगेलाले भने । किराया धनकुटाका अध्यक्ष उद्धवमणि राईले प्रहरीले आफूहरूलाई विना कारण पक्राउ गरेर ल्याई नानाथरी बयान लिएर हैरानी दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पक्राउ परेका पहिचानवादीहरूलाई आइतबार छोड्ने बताएका छन् । हिरासतमा प्रहरीको अमानवीय व्यवहार भएको भन्ने गुनासोको विषयमा आफूले बुझ््ने प्रजिअ पौडेलले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले भने भवन अभावको कारण साँघुरो कोठामा पहिचानवादीहरूलाई राख्न बाध्य भएको जानकारी दिए । पिसाब फेर्ने कोठा र सुत्ने कोठाको विषयमा विचार गर्न सकिने उनले बताए । धनकुटाको लेगुवा र सिँधुवाको एमालेको सङ्कल्प अभियानलाई अवरोध गर्न खाजेको भन्दै १९ जनालाई प्रहरीले बुधबार र बिहीबार नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओलीलाई स्वागतको लाइनमा बसेर अभद्र व्यवहार गरेका स्थानीय महेश राईसहित शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको भन्दै पहिचानवादीहरूलाई नियन्त्रणमा लिएको धनकुटाका डिएसपी महर्जनले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा धनकुटा जिल्ला कियाचु अध्यक्ष कमलसिंह लिम्बू, यायोक्खा जिल्ला अध्यक्ष उद्धवमणि राई, किरात राई यायोक्खा पाख्रीबास नगरअध्यक्ष जितेन्द्र माम्पाङ, प्रदेश नं. १ पुनः नामाङ्कन सङ्घर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र छारा राई, यायोक्खा सङ्खुवासभा जिल्ला सचिव उमाकुमारी राई, पनिल कुलुङ, करवीर कुलुङ, जुद्ध राई, सोकुल राई लेगुवाबाट पक्राउ परेका हुन् ।

त्यसैगरी धनकुटाको सिँधुवाबाट पक्राउ परेकाहरूमा तेह्रथुम जिल्लाका पहिचानवादीहरू सूर्य मादेन, शङ्कर खेवा, नगेन साँवा, उदयदीप सम्बाहाम्फे, बोद्धराज लिम्बू, फौद तुम्खेवा, दीपक लिम्बू, रूपेश लिम्बू, योगेन्द्र साँवा लिम्बूलगायत गरी जम्मा १९ जना रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी महर्जनले जानकारी दिए ।