विजयपुर । पहिचान पक्षधरले आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग राखी गरेको बन्दले कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा यातायात अवरुद्ध बनेको छ । बन्दले यातायात ठप्प बनेपनि अप्रिय घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अधिकारीले बताएका छन् ।

झापा जिल्लाको दमक र सुनसरीको धरानबाट जम्मा ९ जना बन्दकर्ता पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल का अनुसार दमकमा  विष्णु लिम्बूसहित चार जना पक्राउ परेका छन् ।

झापाको कमल गाउँपालिका–३ केरखाबाट सङ्घीय लोकतान्त्रिक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदय सिगु लिम्बू, नेपाल तामाङ घेदुङ सङ्घ प्रदेश सदस्य जसकुमार तामाङ र सङ्घीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बू झापाबाट पक्राउ परेका हुन् । प्रवक्ता रिजालले भने, ‘बन्दका क्रममा पक्राउ परेकालाई जाहेर गरेका छौँ । छाड्ने वा राख्ने माथिको आदेशअनुसार हुन्छ ।’

धरानबाट सुमन चेम्जोङ, करुण राई, शम्भु राई (पृथक्) सीताराम राई र हरि बान्तवा पक्राउ गरेका थिए । उनीहरू भने रिहा भइसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । पहिचान पक्षधरले यसअघि पक्राउ परेका नेता कार्यकर्तालाई छाड्न माग गर्दै बन्द आह्वान गरेका थिए । नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रमलाई अवरोध गर्न पहिचान पक्षधरले आन्दोलन सुरु गरेका थिए । पहिचान पक्षधरले एमालेको अभियानलाई पूर्वका ठाउँ–ठाउँमा अवरोधसमेत गरेका थिए । सङ्कल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किरातीसहित ३१ जनालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

उनीहरूलाई छाड्न माग गर्दै बन्द गरेका थिए । नेता तथा कार्यकर्तालाई प्रहरीले नछाडेपछि आज (आइतबार) पनि बन्दलाई निरन्तरता दिने जनता समाजवादी पार्टी नेपाल धरानका अध्यक्ष ताजुव लिम्बूले जानकारी दिए । २६ मङ्सिरमा कोशी प्रदेश प्रवेश गरेको नेकपा (एमाले)को सङ्कल्प यात्रालाई अवरोध गर्न खोज्ने ४१ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये ९ जनालाई छाडेर ३१ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको छ ।