नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने बताएका छन्।

नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्पका अभियानअन्तर्गत पाँचथरको फिदिम बृहत् जनसभालाई सम्बोधन गर्दै शनिबार ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान वृद्धि हुने र विकास, समृद्धि आउने बताए ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए ।

ओलीले भने, 'देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।'

यस्तै उनलेे एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए। उनले भने, 'देश विकास हुन सकेको छैन। देश कङ्गालीतर्फ धकेलिंदैछ। सरकारको बेइमानी चिर्न तपाईंहरुले एमालेलाई विश्वास गर्न जरुरी छ ।'
कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने ओलीको भनाइ छ ।