गत वैशाखमा प्राविधिक शिक्षालयको उद्घाटनका बेला आफ्नो जन्मघर आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७ महिनापछि समृद्धिका लागि सङ्कल्प अभियानको नेतृत्व गर्दै १६ औं दिनमा आज आफ्नो जन्मस्थान 'इवा' मा बास बस्न आइपुगे ।

१२ वर्षको उमेरमा सपरिवार झापा झरेका उनका बाल्यकालका १२ वर्षका अनुभूति यहाँ जीवन्त छन् । गत वर्ष आफ्नो जन्मदिन यहीँ मनाएका अध्यक्ष ओलीले आज साँझ तेह्रथुमको छातेढुङ्गास्थित इवा जन्मघर आइपुग्दा १६ दिनमा पार गरेका साढे १८ सय किलोमिटरको यात्राका आफ्ना सारा थकानलाई विश्राम दिन पुगे । अध्यक्ष ओलीले जन्मघरमा सङ्कल्प अभियानका यात्रीहरुलाई स्वागत गरे ।

महाकालीको किनारबाट सुरु भएको सङ्कल्प यात्राले कर्णाली, गण्डकी, भेरी, इन्द्रावती, भोटेकोसी, सुनकोसी, अरुण तरेको छ। र, शनिबार बिहान तमोर तरेर फिदिम पुग्दैछ । र, आगामी पुस १ गते पाँचथरको चिवा भञ्ज्याङ ।

Til bahadur gahatraj

ओलीको बाल्यकालका अनुभूति सङ्गालेर उनी आउने समय कुरेर बसेएका इवाका तिलबहादुर गहतराज हातमा घङरुको लौरीको सहारा लिएर कुरेर बसिरहेका थिए ।

अध्यक्ष ओलीले जन्मघर आइपुग्दा बालसखासँग झुम्राको गोल खेलेको अनुभूति साटे । बाल्यकाल सम्झेर  एकफेर उन्मूक्त हाँसो हाँसे । 

बयोवृद्ध तिलबहादुरले अध्यक्ष ओलीलाई बाल्यकालमा पिठ्युँमा बोकेर विद्यालय पुर्याएको र घरसम्म ल्याएको सम्झना गरे ।

'मैले आफैं पनि उहाँलाई हुर्काएको एकै ठाउँ पिठ्युमा बोकेर स्कुल लगेको, आमा ६ महिनामै बितिन्, हाम्रै आमाको दूध खुवाएर हुर्काएको, जन्म घर यही नै हो,' तिलबहादुरले विगत सम्झदै भने, 'घर भत्कन दिइएको छैन ।'

शुक्रबार साँझ अध्यक्ष ओलीको जन्मघर पुगेका सयौं एमाले नेता, कार्यकर्ता र सङ्कल्प अभियानका यात्रीहरुले गौरवको अनुभूति गरे । उनीहरुले अध्यक्ष ओलीको जन्मघरलाई पृष्ठभूमि बनाएर क्यामेरामा तस्बिरहरु कैद गरे ।
नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मुलुकको एक युगपुरुष जन्माएको घर आइपुग्दा गौरवको अनुभूति भएको उल्लेख गरे । 'यो ऐतिहासिक घरको रुपमा लिन सकिन्छ
राष्ट्रको अभिभावक जन्माउने घर ।' खतिवडाले भने । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले 'देशभक्त छोरो जन्माउने यो घर ।'  भएको प्रतिक्रिया दिए ।
पूर्वमन्त्री तथा एमाले नेता भानुभक्त ढकालले अध्यक्ष ओलीको जन्मघर आइपुग्दाको अनुभव साट्दै भने, 'पवित्र घर, सबै ठाउँले यत्तिको गौरव कमैले मात्र पाउँछन्, केपी ओली आस्थाको धरोहर बन्नु भएको छ उसरी नै यहाँ आउँदा सबैले गर्व गरेका छन् ।'

एमाले महासचिव शङ्कर पोख्रेलले १६ औं दिनमा आठराईस्थित अध्यक्ष ओली जन्मस्थान आइपुगेको बताए । 'आज पार्टी अध्यक्ष आफैं जन्मेको घरमा बस्दै हुनुहुन्छ, सङ्कल्प यात्रा सोचेभन्दा उपलब्धीमूलक भयो । जन्मस्थान आएर थकान मेटिएको अनुभूति गर्नुभाछ ।'

ओली स्वयमले सामाजिक सन्जालमा जन्मघर आइपुग्दाको अनुभूति बाँड्दै लेखेका छन् - 'जन्मघरबाट शुभरात्री ! जन्मघर इवा पुग्दा बाल्य जीवनका रमाइला दिनहरूको खुब सम्झना भयो । यसपाली तेह्रथुम आउँदा म एक्लै थिइनँ, महाकालीदेखि यात्रारत यात्रीहरू पनि सँगै हुनुहुन्थ्यो। विकास गाउँ पुग्न थालेको छ, तर गाउँमा बस्नेहरू गाउँ छोड्न थालेका छन् । हामी गाउँहरुलाई कसरी सुविधा र कमाइको केन्द्र बनाउने भन्ने कुराकानी गर्दै पश्चिमदेखि पूर्वसम्मै हिँडिरहेका छौं।'