देशभक्त चलचित्र ‘काँडेतार’ धरानमा यही मङ्सिर ३० गते प्रदर्शनी हुने भएको छ । 

नेपाली माटो, राजनीतिक अवस्था र देशको मिचिएको सिमानाहरूबार चलचित्रले देखाउन खोजेको निर्माता नवल खड्काले बताए । पूर्वका सुनसरी, मोरङ, झापालगायत काठमाडौँमा छायाङ्कन गरिएको छ । चलचित्रले लेखन प्रतियोगितामा सर्वोत्कृष्ट भएर नेपाल सरकारबाट १० लाख रुपैयाँको सम्मान पाएको चलचित्रकी कार्यकारी निर्माता तथा गायिका सत्यकला राईले बताइन् ।

सिमानामा काँडेतार लगाउँदा भारत र नेपालको सम्बन्ध समेत सुदृढ हुने विषयलाई उठान गर्न खोजिएको छ । सीमामा बस्ने नेपाली नागरिकले समेत आनन्दको श्वास फेर्न पाउने निर्माता खड्काले बताए । सरकारले किन देशको सिमाना जोगाउन सकेको छैन भन्ने वास्तविक र यथार्थ कुरालाई उठान गरेको निर्माता खड्काले बताए । 

च्यारिटी प्रदर्शनबाट सङ्कलित रकम सिमा क्षेत्रमा बसोबास  गर्ने, सीमा जोगाउन लागीपरेका नागरिकलाई सहयोग गर्ने बताइएको छ । काँडेतार लाहान, बुटवल, काठमाडौँ लगायतका हलमा च्यारिटी शो गरिसकेको छ । 

फिल्ममा नवल खड्का, गौरव पहरी, मुरलीधर, प्रशान्त यादव, रेविका गुरुङ, सुरविना कार्की, प्रेम सुब्बालगायतको अभिनय रहेको छ । नेपाली मौलिक कथावस्तुमा बनेको फिल्मलाई सबैले हेर्न अनुरोध गरे ।