दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनमार्फत व्यवस्थापन गरिएको कक्षा १२ सम्म संचालित श्री जनजागृति माध्यमिक विद्यालय (सामुदायिक आवासीय विद्यालय ) सन्चालनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ ।

खोटाङ सदरमुकाम दिक्तेल डाँडागाउँमा अवस्थित  विद्यालय परिसर अवलोकन गर्न पुगेका एमाले अध्यक्ष केपी ओलीलाई प्रधानाध्यापक पदमकुमार राईले ज्ञापनपत्र बुझाएका हुन् ।   

२०४० सालमा स्थापित विद्यालयको जीर्ण अवस्था भएपछि २०७२ देखि शुभद्रा मदन फाउन्डेसनमार्फत सन्चालित छ । 

नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ पुगेका ओलीलाई विद्यालयले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा विद्यालयको स्तरोन्नति र पूर्वाधार निर्माण गरिदिन माग गरिएको छ । 

विद्यालयले प्रयोगात्मक र व्यवहारिक रुपमा कक्षा सन्चालन गरिरहेको प्रधानाध्यापक राईले बताए । 

’नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित भई नेपालको अर्थतन्त्रको मूल आधारलाई मध्यनजर गर्दै अर्थतन्त्र शिक्षा प्रदान गर्नका लागि अर्थतन्त्रका चार आधार कृषि, उद्योग, व्यापार र सेवा सम्बन्धि शिक्षा दिनको लागि १२ विषय (विद्या) अवलम्बन गरेका छौं,’ प्रअ राईले भने, ’भाषा, प्रकृति–गणित, खाना, लुगा,  घर,  प्रविधि,  स्वास्थ्य, यौन र योग,  मनोरञ्जन, मानविकी तथा व्यवस्थापन, सिर्जनशीलता, मनोयोग र सन्तुलनमा विभाजन गरी सिकाइरहेको छ ।’

विद्यालयमा नयाँ तरिकाले सिकाइ कार्यको थालनी गरेको प्रअ राई बताउँछन् । देशभरका ५४ ओटा जिल्लाका फरक–फरक समुदायका १ सय १८ बालबालिका अध्ययन गरिरहेका छन्। विद्यार्थीहरुको सम्पूर्ण आवासीय व्यवस्था शुभद्रा मदन फाउण्डेशनले गरिरहेको प्रअ राई बताउँछन् ।

विद्यालयले अर्थतन्त्र विकासका लागि कृषि, उद्योग, व्यापार, सेवालाई आधार बनाएर नौ वटा कृषि फार्म,

कुटानी पिसानी, र व्यापारलगायतका विषयमा प्रयोगात्मक अध्यापन गराइरहेको शिक्षक बाबुराम कार्कीले जानकारी दिए ।