विजयपुर । लिम्बूहरूको थरगत समूहको एक भेलाले कोशी प्रदेशको नाम ‘लिम्बुवान–किरात’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

लिम्बू जातिको थरगत समूह (याक्थुङ सयङ) ले धरानमा सम्पन्न दुई दिने भेलाको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो प्रस्ताव गर्ने निर्णय गरेको हो ।  सचिवालयले पत्रकार सम्मेलन गरी ‘प्रदेशको नाम कोशी खारेजी गर्नुपर्ने, प्रदेशको नाम पहिचानको आधारमा ‘लिम्बुवान–किरात’ पुनः नामाङ्कन गरिनु पर्ने’ जनाएको छ ।

सचिवालयले कोशी नाम खारेजी र पुनःनामाङ्कनका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्दै कोशी प्रदेशको पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको निर्णयहरूलाई आत्मसात गर्ने जनाएको छ । सचिवालयका संयोजक नन्द कन्दङ्वाले भने, ‘लिम्बुवान–किरात’ प्रस्ताव गर्ने र प्रदेशको पुनः नामाङ्कनमा संयुक्त सङ्घर्ष समितिमा छलफल गर्छौं ।’ भेलाले २ सय वर्षभन्दा अघि लिम्बू समाजमा रहेको प्रथाजनित पुख्र्यौली प्रणाली पुनर्जीवित गर्ने संस्था स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ । कन्दङ्वाले पुख्र्यौली भूमिको सामूहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि लिम्बू संसद् आवश्यक महसुस गर्दै, प्रथाजनित प्रणाली पुनर्जीवित गरी तुम्याहाङ प्रणाली अभ्यासमा ल्याउन पहलकदमी गरिने निष्कर्ष निकालेको बताए ।

लिम्बूहरूको सांस्कृतिक स्थल, ऐतिहासिक स्थल, मुन्धुमी आस्थाको स्थल, चिहान, वन, चरन, खर्क, परम्परागत प्रथाजनित पुख्र्यौली भूमिमाथि नियन्त्रण र उपभोग गरिने निर्णय भएको छ । अपभ्रंश भएका, गरिएका स्थानका नामहरू अविलम्ब सच्याउने, सच्याउँदै लैजाने र सम्बन्धित निकायमा अभिलेखीकरण गराइने निर्णय भेलाले गरेको छ ।

लिम्बूहरूको परम्परागत प्रथाजनित पुख्र्यौली भूमि फिर्ता गर्न १८३१ को सन्धिअनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्दा दायर गर्ने निर्णय भएको छ । भेलाले प्रदेशको नाम कोशी अस्वीकार गर्ने र कोशी प्रदेश नाम खारेजी गर्नुपर्ने, प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान–किरात नामाङ्कन गरिनु पर्ने माग गरेको छ । लिम्बू थरगत संस्था मूल अभियान समितिको यस भेलाले एक महिला एक पुरुष गरी थरगत संस्थाबाट दुई सय ५६ सदस्यीय मूल अभियान समिति पुनर्गठन गरिएको छ । दशवटा थुमबाट एक–एक जना प्रतिनिधि रहने गरी १८ जनाको सहजीकरण समूह गठन गर्ने निर्णय गरेको संयोजक कन्दङ्वाले बताए ।