हुर्रा मगर समुदायको सांस्कृतिक नृत्य हो । मगर समुदाय त्यसमा पनि पूर्वेली मगरहरुमा हुर्राको फरक महŒव छ । यो कतिपय अवस्थामा मगर समुदायमा मात्रै सीमित छैन भन्ने तथ्य इलामको चुलाचुली गाउँपालिका–२ का नेवार समुदायले पनि नाचेको कुराबाट पुष्टि गर्दछ । नेवारको आफ्नो संस्कार र संस्कृति पनि होइन तर, पनि हुर्रा त्यहाँको संस्कृति बनेको छ । यहाँका नेवार समुदायमा मात्रै सीमित छैन, ब्राह्मण, क्षेत्री र अन्य समुदायमा पनि हुर्राको नसा छ । नेवारले मगरको संस्कृतिलाई पछ्याएका छन्, यो संस्कृति एक हिसाबले बृहत् बनेको छ । धनकुटाबाट बसाइँ सरी आएका नेवारहरुले गाउँठाउँमा नाच्दै आएको हुर्रालाई आफ्नो झैँ बनाए । अहिले तिहारको समयमा यहाँ हुर्रा एक प्रकारले देउसीको पर्याय बनेको छ । यहाँ देउसीभन्दा पनि हुर्रा खेलेर नेवार समुदाय रमाउने गरेका छन् । त्यसैलाई देउसीका रुपमा मनाउँछन् र मगर संस्कृतिलाई थप समुन्नत बनाइरहेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो । यहाँको विविधतामय संस्कृति नै नेपालको पहिचान हो । फरक फरक धर्म, संस्कृति, भाषा, जातिका कारणले नै नेपालको पहिचान पनि विश्वमा फरक ढङ्गले चिनिएको छ । एकले अर्काको संस्कृतिलाई स्वीकार गरेर अगाडि बढेकै कारण नेपालको गरिमा पनि बढेको छ । सह–अस्तित्व स्वीकार गरिएकै कारणले पनि यहाँका चाडपर्वहरु साझा हुँदै गएका छन् । हुर्रा त्यसैको उदाहरण हो । चुलाचुलीमा नेवार मात्रै हैन, बाहुन, क्षेत्री, लिम्बू, राईले पनि नाच्छन् । देउसीको रुपमा खेल्छन् र रमाइलो गर्छन् । सानैदेखि हुर्राको ताल र भाका लगाउन जानेकै कारणले पनि यहाँका नेवार समुदायमा हुर्रा प्रख्यात छ । हाम्रा संस्कार संस्कृतिहरु यसैगरी समृद्ध बनिरहेका छन् । एकले अर्कोको संस्कृति र संस्कारलाई स्वीकार गरेकै कारणले गरिमा थप चुलिएको छ । यहाँ पश्चिमका सोरठी, देउडाहरु पनि नचानिने होइनन् । पूर्वका रत्यौलीहरु पनि ननाचिने होइनन् । सबैले सबै पर्वलाई स्वीकार गरी अगाडि बढेकै कारणले नेपालले विश्वको आफ्नो पहिचान पनि फरक तरिकाले चिनाउन सकेको छ ।

संस्कृति अन्तरघुलित हुन्छ । त्यसैकारण पनि वैश्विकताले गर्दा विदेशी संस्कृतिहरु पनि चाँडै नै स्वीकार गरिएको हो । यहाँका फरक–फरक जातिका संस्कृतिहरु पनि साझा भएका हुन् । फागुकै कुरा गरौँ, तीजकै कुरा गरौँ, छठ पर्वकै कुरा गरौँ । अहिले यी पर्वहरु सीमित जातिले मात्रै मनाउँदैनन् । सबैले मनाउँछन् । यसकारण पनि संस्कृतिहरु समृद्ध हुँदै गएका छन् । विकसित हुँदै गएका छन् । राम्रा कुरालाई पछ्याउनु राम्रो हो । राम्रो कुराको वृद्धि हुन आवश्यक पनि छ । गलत कुरालाई प्रश्रय दिनु हुँदैन । संस्कृति एउटा निश्चित समुदायमा मात्रै सीमित भयो भने त्यसले फल्ने फुल्ने मौका प्राप्त गर्दैन । यसकारण पनि सबैको अस्तित्वलाई स्वीकार गरी अगाडि बढ्ने हो भने त्यसले नेपालको गरिमालाई पनि चुल्याउँछ । यसतर्फ सबैले ध्यान दिने हो कि !