विगत लामो समयदेखि खम्बुवान राष्ट्र-राज्य निर्माणका निम्ति संघर्षरत खम्बुवानवादी राजनीतिक संगठनहरु खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबीच एकीकरण भएको छ । पार्टी एकीकरणले पार्टीको कार्यदीशा ऐतिहासिक पृष्ठभूमि पहिचानको आधारमा खम्बुवान राष्ट्र-राज्य निर्माण गर्ने तय गरेको छ ।

दुई पार्टीबीच सुनसरीको इटहरीमा आज ४ बुँदे सहमति गर्दै पार्टी एकीकरण गरिएको हो । पार्टीको नाम 'खम्बुवान राष्ट्रिय मोर्चा नेपाल' रहने सहमति भएको छ । सहमति पत्रमा खम्बुवान राष्ट्रिय मोर्चा नेपालका वार्ता समिति संयोजक विप्लव खम्बू र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका वार्ता टोली संयोजक राजकुमार खम्बूले हस्ताक्षर गरेका छन् ।
अन्य सहमतिका बुँदाहरुमा पार्टीको झण्डा खम्बुवान राष्ट्रिय मोर्चा नेपाको रहने छ। चुनाव चिन्ह खम्बुवान राष्ट्रिय मोर्चा नेपालको रहने सहमति भएको छ ।

एकीकृत पार्टीको नयाँ कार्य समिति विभिन्न तहमा समान्तर आधारमा समायोजन गरिने सहमति भएको छ भने पार्टी एकीकृत घोषणा भएको मितिबाट ६ महिनाभित्रमा राष्ट्रिय सम्मेलन र महाधिवेशनद्वारा नयाँ कार्यसमिति चयन गरिने सहमति भएको छ ।

सहमतिपत्रमा खम्बुवानभूमि मूक्तिका लागि खम्बुवानवादी राजनीतिक शक्तिहरु एकजुट हुनु पर्नेमा विभिन्न दलमा छिन्नभिन्न भएको अवस्थामा गुज्रिएको उल्लेख छ । छिन्नभिन्न अवस्था एकीकृत राजनीतिक शक्तिमा रुपान्तरण हुनु अहिलेको समयको माग र खम्बुवानवासी जनताको चाहना भएको सहमतिपत्रमा भनिएको छ ।

सहमतिपछि अब खम्बुवानवादी राजनीतिक शक्तिहरु नयाँ सिराबाट कार्य अगाडि बढाउने, फुटेर होइन जुटेर संयुक्त एकीकृत शक्तिमा रूपान्तरित भई अघि बढ्ने खम्बुवान राष्ट्रिय मोर्चा नेपालका वार्ता समिति संयोजक विप्लव खम्बूले बताए ।

पार्टी एकीकरणको विषयमा प्रतिक्रिया दिंदै खम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बूले आफूहरूकै माग र मुद्दा उठाएर अघि बढेको माओवादीमा राष्ट्रिय राजनीतिमा पुगेपछि  विचन पैदा भएको र पहिचानको मुद्दाको सकिएको जस्तो देखिए पनि अझै बाँकी रहेको बताए । उनले प्रदेशका विभक्त पार्टी र शक्तिलाई एकीकृत गर्ने अभियान सुरु गरेको बताए । यो अभियान तीव्र रुपमा अगाडि बढाउने सङ्कल्प रहेको खम्बूले बताए ।