राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको उल्लेख गरेको छ । 

आजदेखि राजधानीमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले २०६२–६३ सालमा आन्दोलन समाप्त भएपछि योजनाबद्ध र संगठित रुपले भ्रामक भाष्य तयार गरी मुलुकको हिन्दूधर्म, राजसंस्था र एकात्मक राज्य प्रणाली रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको प्रमुख कारकका रुपमा रहेको भ्रामक भाष्य निर्माण गरिएको उल्लेख गरेका छन् । 

राप्रपा नेपालको कार्यपत्रमा २०६३ सालको परिवर्तनले दिएको आमुल परिवर्तन र सदियौंदेखिको दासताबाट मूक्त तुल्याउने म्याण्डेड अठार वर्ष पार गर्दैगर्दा ठीक विपरीत गन्तव्यमा पुगेको उल्लेख छ । 

मुलुकको आन्तरिक मामिलामा बाह्य शक्तिको दबाव र प्रभाव तीव्ररुपले बढेर गएको, महाशक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा देखिएको, एमसीसी, बिआरआई, एसपीपीलगायतका परियोजनामा देखिएको विवादलाई राप्रपाले उदाहरणका रुपमा प्रस्तुत गरेको छ  । 

‘अर्थतन्त्र धराशयी हुने अवस्थामा पुगेको छ । केवल विप्रेषणको भरमा अर्थतन्त्र टिकेको छ । उद्योग व्यवसाय मन्दीको चपेटामा परेको छ । लघुवित्त, सहकारी र बैंकको चर्को ब्याज र ऋणबाट लाखौं जनता आक्रान्त रहेका छन् । गरिब र धनीबीचको खाडल निरन्तर बढिरहेको छ ।’ कार्यत्रपमा भनिएको छ, ‘नेताहरुको भ्रष्ट चरित्र र प्रवृत्तिको कारण राज्यव्यवस्थामाथि जनताको भरोसा टुटेको । विदेश पलायन हुनेको सङ्ख्या कहाली लाग्दो छ । सामान्य रोजगारीको अभावले गर्दा करिब चालिस लाख युवा विदेशमा रगत पसिना बगाउन बाध्य छन् ।’

भ्रष्टाचारको महारोगले देश त्रस्त भएका बेला स्वयम् न्याय दिनुपर्ने निकाय तथा अपराधइीलाई कारबाही गर्नुपर्ने संस्थामा रहेका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको राप्रपा नेपालको कार्यपत्रमा उल्लेख गरिएको छ ।

ललिता निवास जग्गा काण्ड, सुन तस्करी, नक्कली भुटानी शरणार्थी काण्ड, नेपा ट्रष्टको सम्पत्तिको ब्रह्मलुट, एनसेल खरिद बिक्री र करछली प्रकरणमा प्रधानमन्त्री, मन्त्रधीका साथै सिङ्गो मन्त्रालय नै संलग्न पाइएको तथ्य कार्यपत्रमा प्रस्तुत गरिएको छ । 

‘संविधानले संगठित धर्म परिवर्तन निषेध र दण्डनीय करार गरेको छ । तर, राजनीतिक संरक्षणमा भइरहेको धर्म परिवर्तनको डढेलोले नेपाली पहिचन सङ्कटमा परेको छ ।’ कार्यपत्रमा भनिएको छ, ‘विदेशीको दबाव र निहीत राजनीतिक स्वार्थपूर्तिको निम्ति हिन्दू, बुद्धिष्ट र किरातीहरुलाई आक्रमण गर्ने, अपमान गर्ने र हेप्ने काम संगठितरुपले भइरहेको छ । फलस्वरुप देश धार्मिक सांस्कृतिक द्वन्द्वमा फस्न सक्ने सम्भावना बढेर गएको छ ।’

राप्रपा नेपालले मुलुकमा भइरहेका घटनाक्रमले २०६३ पछि राष्ट्र निर्माणको निम्ति अवलम्वन गरिएको अवधारणा र  मार्गचित्र गलत भएको र संघीय गणतन्त्र असफल भएको उल्लेख गरेको छ ।  

राप्रपा नेपालले राष्ट्र निर्माणको वैकल्पिक अवधारणार अघि सार्दै ‘सम्बर्धनवाद’को दर्शनलाई राष्ट्रनिर्माणको उपयुक्त वैकल्पिक विचार र मार्गचित्रका रुपमा प्रस्तुत गरेको छ । राप्रपा नेपालले नेपाली संस्करणको मौलिक प्रजातन्त्रको मुख्य मान्यताहरुमा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र र स्थानीय गरी दुई तहको राज्य संरचना र सरकार, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष तथा राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्थालगायतका एजेण्डा प्रस्तुत गरेको छ ।  

राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु भएको हो । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक  तथा  माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत हुने सुशासनको माध्यमबाट आर्थिक समृद्धि सम्बन्धी राजनीतिक कार्यपत्र छ । कार्यसम्पादन समितिको हिजोको बैठकले कार्यपत्र परिमार्जनसहित अनुमोदन गरेको थियो ।