नेकपा (एमाले) ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत अभियानको १५ औं दिन मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभाका सन्दर्भमा प्रेस चौतारीमा आवद्ध नेतृत्वलाई धरानमा ब्रिफिङ गरिएको छ ।

बिहीबार धरानमा प्रेस चौतारीका केन्द्र, प्रदेश, जिल्ला र नगरका नेतृत्व र संचारकर्मीमाझ कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रचार विभाग प्रमुख लछुमन तिवारी, जन सङ्गठन समन्वय संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई, जनसांस्कृतिक महासङ्घका उपप्रमुख यज्ञकुमारी रुचाललगायतको उपस्थितिमा बसन्तपुरमा अभियानको व्यवस्थापन, स्वयमसेवक परिचालन र प्रचारप्रसार तयारीबारे जानकारी गराइएको हो ।

विभिन्न उपसमितिले गरिरहेको कामका बारेमा जानकारी गराउँदै प्रचार विभाग प्रमुख तिवारीले
पार्टीको अभियान ८४ केन्द्रित भन्दा पनि अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पहाडको समृद्धिको खाका र आधार निर्माण रहेको बताए । उनले स्रोत सम्पदाको विस्तारीकरण गर्ने, जातीय सद्भाव र राष्ट्रिय एकता फैलाउने गरी आयोजना गरिएको  गरिएको बताए ।

वसन्तपुरमा आयोजना हुने जनसभामा जनसहभागिता व्यापक रुपमा गराउन नेता कार्यकर्तालाई प्रदेश कमिटीका उपाध्यक्ष चेम्जोङले आग्रह गरे । उनले सुरक्षालगायतका चुनौतीमा समेत संयम भएर अघि बढ्न अनुरोध गरे ।

'यसपटकको सभा पहाडमा पहिलो पटक हुँदैछ, यो पहिले पनि भएको थिएन न पछि नै होला, तसर्थ  जनसहभागिता गराउने हिसाबमा तराईका साथीहरुलाई च्यालेन्ज छ,' उपाध्यक्ष चेम्जोङले भने, 'पहाड आउन तराइका काम्रेडहरुलाई अनुकूलता नै छ, पहिले हामी गाडीका गाडी झर्थ्यौ, अब समथरका साथीहरु माथि चढ्ने, तसर्थ योजनाभन्दा बढी नै जनसहभागिता होस् ।'

नेकपा(एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा ट्रेड युनियन इन्चार्ज भीमज्वाला राईले ट्रेड जिफन्टको तर्फबाट धनकुटाको हिलेलगायतका स्थानमा स्वागतद्वार निर्माण, पार्टी तथा जिफन्टका झण्डा सजाउने साथै पहिचानसहित श्रमिकहरूको सहभागिता बसन्तपुर केन्द्रित गर्ने बताए ।

यस्तो छ, सङ्कल्प अभियानअन्तर्गत वसन्तपुरको तयारी

साङ्गठनिक रुपमा १५ हजार नेता कार्यकर्ता सहभागी गराउने नेकपा (एमाले) कोशी प्रदेश कमिटीले तयारी गरेको छ । वसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित गर्न कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन कमिटी निर्माण गरेको छ ।

तेह्रथुमकै युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक उपसमिति गठन भएको छ । त्यस्तै मोहन डांगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन भएको छ । शिव ढुंगानको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएको छ ।

बैठकले कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय नेतृत्वको परामर्शमा दुरगामी खाका तयार पार्नका लागि नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई जिम्मेवारी दिइएको छ ।

कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बसन्तपुरमा हुने जनसभामा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरिने छ ।

सभाहरुमा पार्टीका सबै जनसंगठनलाई परिचालन गरिनेछन्, ठाँऊ विशेषका जातीय झाँकीसहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ । 

कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्रान्ति बजार, छातेढुङ्गा चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयमसेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयमसेवकहरु परिचालन हुने स्वयम्सेवक उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिए।