वाम्बुले राई समाज, नेपाल (वाम्रास) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित २४ औं वाम्बुले राई भाषा कविता प्रतियोगितामा धरान उपमहानगरपालिका वडा नं. ५ की रेनुका वाम्बुले राई प्रथम भएकी छन् । 

उनले नगद १० हजारसहित प्रमाण– पत्र प्राप्त गरिन् । प्रतियोगितामा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का कमल किराती दोस्रो भएर नगद ६ हजार र मानेभञ्ज्याङ–५ का श्याम वाम्बुले राई तेस्रो भएर नगद ४ हजार प्राप्त गरे । त्यस्तै धरान उपमहानगरपालिका–५ का जगतधन राई र विराटनगर महानगरपालिका–१२ की शुभकुमारी राईले नगद २ हजारका दरले सान्त्वना पुरस्कार जितेको प्रतियोगिताका निर्णायक मण्डल संयोजक शुभराज राई (काजी)ले जानकारी दिए ।

विजेताहरूलाई प्रतियोगिताका प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईलगायतले नगद तथा प्रमाण–पत्र हस्तान्तरण गरे । बुधबार धरान–१० स्थित यलम्बर भवनमा आयोजित प्रतियोगितामा सहभागीहरूले ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकको कविता वाचन गरेका थिए ।

विभिन्न जिल्लाबाट सहभागी ६५ जनामध्ये १२ प्रतिस्पर्धी उपस्थित भएर कविता वाचन गरेको वाम्रासका सुनसरी जिल्ला पूर्वअध्यक्ष रामकर राईले जानकारी थिए । 

प्रतियोगिता सुरु हुनुभन्दा अघि वाम्बुले राई समाजको स्थापना दिवसका अवसरमा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, यायोक्खाको भाषिक समूहतर्फबाट भूपी कोयी राई, पत्रकार हर्ष सुब्बा, प्रमुख अतिथि प्रा.डा. न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन गरेको वाम्रास सुनसरीका अध्यक्ष लाखमान राईले प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागिता रहेको जानकारी दिए ।