डिपो स्कुल धरानको खेल मैदानमा जारी १८ औं संस्करणको ललित–अम्बर डिपो कपको आज बुधबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै पुलिस स्कुल धरान र बराह राइजिङ चतरा फाइनलमा प्रवेश गरेका छन् ।

पुलिस स्कुलले एक्वा स्कुललाई २–० गोलले पराजित गर्दा बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा पुलिसका रोयल चौधरी र अङ्शु बास्फोरले गोल गरे । उक्त खेलमा एक्वा स्कुलका युनिक रुचाल म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा बराह राइजिङका शिशिर कार्की, सुबोध कटुवाल र कान्जी राईले गोल गरे । सो खेलमा देउराली चिल्ड्रेनका युसन राई म्यान अफ द म्याच घोषित भए । 

म्यान अफ द म्यानचालाई डिपो स्कुल व्यवस्थापन समितिका सदस्य सूर्य पन्धाक लिम्बू र दीपबहादुर राईले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

प्लेट च्याम्पियनतर्फ मर्निङ स्टार र कार्मेल फाइनलमा

डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियनतर्फ बुधबार भएको सेमिफाइनल खेलमा मर्निङ स्टार स्कुल वराहक्षेत्रले प्रभात स्कुल धरानलाई २–१ गोल अन्तरले पराजित गरेको छ । 

यस्तै दोस्रो खेलमा कार्मेल स्कुल धरानले धरानकै विष्णु स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

पहिलो खेलमा मर्निङ स्टारका प्रनव माझी र आयुस राना मगरले गोल गरे । दोस्रो खेलमा कार्मेलका दर्शन राई र नुयाङ राईले गोल गरेका थिए । 

प्लेट च्याम्पियन उपाधिका लागि बिहीबार कार्मेल र मर्निङ स्टार भिड्दैछन् भने तेस्रो उपाधिका लागि एक्वा स्कुल र देउराली चिल्ड्रेनले प्रतिस्पर्धा गर्नेछन् ।