नेपाली काङ्ग्रेस धरान उपमहानगरपालिका नगर समितिबाट ६ सदस्यीय समूह भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा आवास निर्माण गर्न प्रस्थान गरेको छ ।
मङ्गलबार धरान नगर समितिले ६ सदस्यीय समूह भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको जनाएको हो । समूहको नेतृत्व धरान उपमहानगरका निवर्तमान नगर प्रमुख तिलक राईले गरेका छन् । टोलीमा काङ्ग्रेस सुनसरी–१ प्रदेश सभा–१ का सचिव राजेन्द्र राई, क्षेत्र नं. २ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ र धरान–१७ का सचिव सूर्यकुमार सुनुवार रहेका छन् ।
उनीहरूलाई खादा र माला लगाई नेपाली काङ्ग्रेस धरान नगर समितिले बिदाइ गरेको छ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार धरानको काङ्ग्रेस टोलीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारका लागि अस्थायी आवास निर्माण अभियानमा श्रमदान गर्नेछ ।
नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेलले धरानको टोली भूकम्प प्रभावित क्षेत्रमा दुई वटा घरलाई पुग्ने जस्तापाता, काँटी–कब्जा, दुई वटा घरलाई पुग्ने बिजुलीको वायरिङलगायत घर निर्माण गर्नका लागि आवश्यक सामग्रीसहित प्रस्थान गरेको छ । साथै घर निर्माण गर्न जाने टोलीलाई चाहिने आवश्यक खानेकुरा पनि व्यवस्थापन गरेर प्रस्थान गरेको छ । सभापति पोखरेलका अनुसार टोली दुईवटा घर निर्माण गरिसकेपछि मात्र फर्कनेछ ।
निवर्तमान नगरप्रमुख तिलक राईले काङ्ग्रेस जिम्मेवार र सहयोगी पार्टी भएकोले सुख–दुःखका बेला जनताको तन मनमा बस्ने पार्टी भएको बताए । केन्द्रीय समितिको निर्णय र निर्देशनअनुसार काङ्ग्रेसका सबै तह र तप्काबाट टोली जान नसके पनि धरानबाट टोली गएको उनले बताए । भूकम्प प्रभावित क्षेत्रमा जान २ दिन र आउन २ दिन लाग्ने हुनाले त्यसको लागि समय १० देखि ११ दिनसम्मको खर्च व्यहोर्नु पर्नेछ ।
 
                     
         
                                        
                                                                                                 
        































