थाइराइड रोगको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका खोटाङका रुक्पाल राई सोमबार रगत परीक्षण नै नगरी फर्किए । 

प्रतिष्ठानको ओपीडी सेवाको रगत सङ्कलन काउन्टर तोकिएको समयअघि नै बन्द भएपछि रगत दिन नपाएको उनको दुःखेसो छ ।

चिकित्सकको सुझावअनुसार रगत चेक जाँचका लागि काउन्टर बन्द हुने समयभन्दा २० मिनेटअगाडि उनी काउन्टर पुगेका थिए । उनले रगत सङ्कलन काउन्टर खुल्ने समय दिउँसो ३ बजेसम्म भए पनि अघि नै काउन्टर बन्द कर्मचारी हिँडिसकेको जानकारी पाए । ‘रगत सङ्कलन काउन्टरमा म दिउँसो २ बजेर ४० मिनेटमा पुगें,  तर काउन्टर बन्द थियो’ उनले भने, ‘आज ब्लड चेक गर्न नै पाइनँ, त्यतिकै फर्किनु पर्‍यो ’

यस्तै सुनसरीको रामधुनी नगरपालिका– ४ झुम्काबाट उपचारका लागि प्रतिष्ठान आएका ७१ वर्षीय नरबहादुर खड्काको दुःखेसो पनी उस्तै छ । समयअगाडि नै काउन्टर बन्द भएपछि उनी रगत परीक्षण नै नगरी फर्किनु परेको गुनासो सुनाए । 

अस्पतालको ओपीडी सेवाको काउन्टरमा बस्ने कर्मचारीहरू तोकिएको समयभन्दा अगाडि नै काउण्टर बन्द गरेर हिँड्दा उनीहरूजस्तै धेरै बिरामीले उपचारमा समस्या भोग्नुपरेको थियो ।

‘काउन्टरमा २ बजेर ४९ मिनेटमा पुगेको थिएँ । तर, काउन्टर बन्द थियो’ खड्काले गुनासो गर्दै भने, ‘कार्यालय समय अवधिभर त कर्मचारी बस्नुपर्‍यो नि । यत्रो ठूलो अस्पतालमा पनि किन यस्तो लापरबाही ?’

अस्पतालको ल्याब सेवा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने समय तोकिएको छ । बिरामीको गुनासोबारे प्रश्न गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा चुरामणि पोखरेलले आफूलाई त्यसबारे जानकारी नरहेको बताए । उनले सम्बन्धित विभागमा बुझेर बताउने बताए । ‘यो बारेमा अहिले मलाई केही जानकारी आएको छैन’ डा पोख्रेलले भने, ‘किन त्यस्तो भयो म बुझ्छु । यदि त्यस्तो भएको भए हामी सुधार्छौं ।’