डिपो स्कुल धरानको खेल मैदानमा जारी १८ औं संस्करणको ललित–अम्बर डिपो कपको आज मङ्गलबार भएको क्वाटरफाइनल खेलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

मङ्लबार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाई २–१ गोलअन्तर पराजित गरेको छ । लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । 

पहिलो खेलमा एक्वाका एनिस राई र निसान चौधरीले गोल गरे । दिल्ली पब्लिकका सार्थक खवासले पेनाल्टीमार्फत् गोल गर्दै सान्त्वना गोल फर्काए । उक्त खेलमा दिल्ली पब्लिकका सार्थक खवास म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा लर्ड बुद्धका कृष चौधरी र सुसान्त भुजेलले १–१ गोल गरे । सो खेलमा बराह राइजिङका गोलकिपर साम्गेन तामाङ म्यान द म्याच घोषित भए ।

दिलकुमार प्लेट च्याम्पियनः प्रभात स्कुल विजयी

डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियनतर्फ मङ्गलबार भएको खेलमा प्रभात स्कुलले माउन्ट हर्मन स्कुललाई ४–० गोलले पराजित गरेको छ । यस्तै विष्णु स्कुलले टाइब्रेकरमा समिट स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ । 

पहिलो खेलमा प्रभातका आशिष राईले चारै गोल गरे । दोस्रो खेलमा टाइब्रेकरमा सक्षम थापा, दिवेश लिम्बू र रोनिलहाङ राईले गोल गरे ।

भोलिको पहिलो सेमिफाइनल खेल पुलिस स्कुल र एक्वा सेकन्डरी स्कुल र दोस्रो सेमिफाइनल खेल  देउराली चिल्ड्रेन एकेडेमी र लर्ड बुद्ध स्कुलबीच हुनेछ । 

हिमशिखर स्कुल तरहराले प्रतियोगिताको नियमभन्दा बाहिर खेलाडी खेलाएको पाएपछि नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको हो । सोमबार नेपाल पुलिस र हिमशिखरबीचको खेल सकिएपछि  हिमशिखर स्कुलले प्रतियोगिताको नियमभन्दा बाहिरका खेलाडी खेलाएको भन्दै पुलिस स्कुलले आयोजकलाई निवेदन दिएका थिए । सोही आधारमा आयोजकले छानबिन गर्दा नियम बाहिरका खेलाडी सहभागी गराइएको पाएपछि हिमशिखर स्कुललाई प्रतियोगिताबाट निलम्वन गर्दै नेपाल पुलिस स्कुललाई विजयी घोषित गरिएको आयोजकले जनाएको छ । 

नेपाल पुलिस स्कुल र हिमशिखर स्कुलबीच भएको खेलमा हिमशिखर स्कुल १–० गोल अन्तरले विजयी भएको थियो ।