डिपो स्कुल धरानको खेल मैदानमा जारी १८ औं संस्करणको ललित–अम्बर डिपो कपको तेस्रो दिन आज भएका खेलमा एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक स्कुल र लर्ड बुद्ध स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा माउन्ट हर्मन विरुद्ध एक्वा स्कुलले २–१ गोल अन्तरको जित हाँसिल गर्यो । दोस्रो खेलमा बराह राइजिङ्ले प्रभात स्कुललाई २–१ ले पछाडि पार्यो । तेस्रो खेलमा बिष्णु मेमोरियल स्कुलका विरुद्ध दिल्ली पब्लिक स्कुलले ३–० गोलअन्तरको जित हात पार्यो भने चौंथो खेलमा लर्ड बुद्ध स्कुलले समिट स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गर्यो । 

पहिलो खेलमा एक्वा स्कुलका एलिस राई र रिदम श्रेष्ठले गोल गरे । माउन्ट हर्मनका नवदीप राईले सान्त्वना गोल फर्काए । दोस्रो खेलमा बराह राइजिङका सुबोध कटुवाल र शिशिर कार्कीले जनही १ गोल गर्दा प्रभात स्कुलका आशिष राईले सान्त्वना फर्काए । तेस्रो खेलमा दिल्ली पब्लिकको जितका लागि आरव श्रेष्ठ, रोहन लिम्बू र सार्थक खवासले १–१ गोल गरे । चौथो खेलमा लर्ड बुद्धका प्रज्वल श्रेष्ठले दुई गोल गरे भने सुसान्त भुजेल, स्वास्तिक कटुवाल र बिवन चौधरीले १–१ गोल गरेका थिए । 

प्रतियोगितामा माउन्ट हर्मनका नवदीप राई, प्रभात स्कुलका दिसन बराइली, विष्णु मेमोरियलका सोबित लिम्बू र समिट स्कुलका हर्षित जैन म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई डिपो आदर्श बहुमुखी क्याम्पसका व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बूले ट्रफी र प्रमाणपत्र प्रदान गरे । 

भोलि सोमबाको पहिलो क्वाटर फाइनल खेल हिमशिखर तरहरा र नेपाल पुलिस स्कुलबीच हुने छ । यस्तै दोस्रो क्वाटर फाइनल खेल देउराली चिल्ड्रेन र मेरिल्याण्ड स्कुल बीच हुनेछ ।