विराटनगर । प्रथम संस्करणको टि–२० रङ्गेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकास समिति रङ्गेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रङ्गेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक टङ्फी पाउनेछ । उपविजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । रङ्गेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रङ्गेलीका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढ्न पनि सक्नेछ’ उनले भने, ‘सहयोग गर्ने स्पोन्सर दाता राम्रो आउँदा हामी विजेता र उपविजेताको राशि बढाउनेछौँ ।’

प्रतियोगितामा रङ्गेलीका ६ वटा टिमको सहभागिता रहने खेल संयोजक अभिषेक मण्डलले जानकारी दिए । रङ्गेली नगरपालिकाभित्रका खेलाडीहरूको टिम रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ दी म्याचको पुरस्कार रहेको छ ।

प्रतियोगताको म्यान अफ दी सिरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिव राजन पनेरुले जानकारी दिए । प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ ।

हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ दी म्याच हुने खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।