डिपो कपको अठारौँ संस्करणको उद्घाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ ।
डिपो स्कुलको आयोजनामा शुक्रबारदेखि सुरु भएको खेलमा तरहराको हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोलले हराएको छ । खेलमा पहिलो हाफको १८ औँ मिनेटमा हिमशिखरका मञ्जिल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । उनले ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । पराजित भएको डिपो अब दिलकुमार प्लेट च्याम्पियनमा सहभागी बन्न पाउने भएको छ । नकआउट चरणअन्तर्गत पहिलो पटक पराजित भएका टिमहरूले दिलकुमार प्लेट च्याम्पियन खेल्ने मौका पाउनेछन् ।
प्रतियोगिता विजेताले नगद ११ हजार एक सय ११ रुपैयाँ, उपविजेताले सात हजार एक सय ११ र तेस्रो हुनेले पाँच हजार एक सय ११ रुपैयाँसहित, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका म्यान अफ दी म्याचले ट्रफी र प्रमाण–पत्र पाउनेछ । सुनसरी जिल्लास्तरीय प्रतियोगिताको १८ औँ संस्करणमा धरानका १२ र धरानबाहिरका चारवटा विद्यालय सहभागी छन् ।
मङ्सिर २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कोशी प्रदेश अध्यक्ष किशोर राईले उद्घाटन गरे । डिपो स्कुल व्यवस्थापन समितिका सदस्य दीपबहादुर राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको छ । प्रतियोगिता डिपो स्कुलको खेल मैदानमा भइरहेको छ ।