सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिका लागिपरेको छ ।
महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने गरी जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमन तीव्र पारेको छ । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यान्वयनमा ल्याउन महानगरले अनुगमन गरेको हो ।
ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई निर्देशन दिएको नगरप्रमुख नागेश कोइरालाले जानकारी दिए । महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा रोक लगाएको थियो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो ।
त्यस्तै महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । ऐनमा १ हजारेखि ५० हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ । खैनी, चुरोट, गुट्का, रजनीगन्धालगायतको सेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाएको नगरप्रमुख कोइरालाले बताए ।
महानगरको टोलीले बिहीबार विराट नर्सिङहोम, नोवेल मेडिकल कलेज र कोशी अस्पतालअगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो मात्रामा गुट्का, खैनी, रजनीगन्धालगायतका सुर्तीजन्य पदार्थ फेला पारेको छ । दोस्रोपटक सुर्तीजन्य पदार्थ भेटिएको पसललाई महानगरले कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ ।