झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
शुक्रबारको खेलमा हारका बावजुद झापा गाउँपालिका समूह ‘ख’को विजेता बनेको छ । समूह ‘ख’ को पाँचौँ खेलमा छिमेकी नगरपालिका कनकाईसँग हार बेहोरे पनि यसअघिको दुई जित र गोल अन्तरका आधारमा झापा गाउँपालिका समूह विजेता बनेको हो ।
कनकाईले लिग चरणमा पहिलो जित दर्ता गरे पनि नकआउटमा प्रवेश गर्न सकेन । यसअघि कनकाई नगरपालिकाले दुई हार बेहोरेको थियो । खेलमा कनकाईले झापालाई १–० गोलले हराएको छ । कनकाईका सन्दीप रसाइलीले खेलको ५३ औँ मिनेटमा निर्णायक गोल गरे । खेलको प्लेयर अफ दी म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।
यसैबीच दोस्रो तथा समूह ‘ख’ को लिग चरणको अन्तिम खेलमा गौरादह नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै गौरादह पनि नकआउट चरणमा प्रवेश गरेको छ । गौरादहसँगको हारसँगै समूह ‘ख’ मा रहेको भद्रपुर ब्लेजर्स भने लिग चरणबाटै बाहिरिएको छ ।
खेलमा भद्रपुर ब्लेजर्समाथि जित्नैपर्ने दबावमा रहेको गौरादहले आफू पछि परेको नतिजा उल्टाउँदै नकआउटमा नाम लेखाएको हो । खेलको पहिलो हाफमा भद्रपुर ब्लेजर्सले २–० को अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नतिजा गौरादहलाई सुम्पिनुपरेको थियो । दोस्रो हाफमा खेलमा फर्किएको गौरादहले भद्रपुर ब्लेजर्सलाई निकै नै दबावमा राखेको थियो ।
गौरादहले भद्रपुर ब्लेजर्सलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २६ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका निकेश गुरुङ र ३१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले गोल गरेका थिए । तर, गौरादहका लागि ४५ औँ मिनेटमा पासाङ लामा र ६३ औँ र ६९ औँ मिनेटमा अमन ताजपुरियाले गोल फर्काएपछि भद्रपुर ब्लेजर्स लिग चरणबाटै बाहिरिएको छ ।
लिग चरणमा गौरादहले दुई खेल जित्यो भने एक खेलमा हारेको थियो । खेलको प्लेयर अफ दी म्याच भएका गौरादहका अमन ताजपुरियाले नगद दुई हजार र ट्रफी पाए । दुवै खेलको प्लेयर अफ दी म्याचको पुरस्कार आयोजक अध्यक्ष दीपेश ढकाल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सौजन्यकर्ता सञ्जय पोखरेल र केशवकुमार मैनालीले प्रदान गरेका थिए । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।