कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गरेका छन् । 

प्रदेश प्रमुख खापुङले शुक्रबार बजेट प्रमाणीकरण गरेका हुन् । प्रदेशसभाको मङ्सिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०’ र कोशी प्रदेश विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०-०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ प्रमाणीकरण भएको छ । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई केदार कार्की नेतृत्वको वर्तमान सरकारले प्रतिस्थापन गरेको हो । विधेयक प्रदेशसभाबाट सर्वसम्मतरूपमा पारित भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक ल्याएका थिए । बजेटको आकार ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको छ ।