नेकपा एमाले धरानको पालिका सभा दल (संसदीय दल) ले नगर कार्यपालिका बैठकमा भएका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने अभ्यास सुरु गरेको छ ।

नगर प्रमुख हर्कराज राईले फेसबुक, युट्युबलगायत सामाजिक सन्जाल प्रयोगकर्ता र सन्चारकर्मीलाई प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको कार्यपालिका बैठकको निर्णय एमालेलेसमेत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने नीति लिएको एमाले धरान संसदीय दलका नेता तथा धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए ।

एमालेले पत्रकार सम्मेलनमा निर्णयसहित पार्टीको धारणा सार्वजनिक गर्ने पहिलो पटक अभ्यास सुरु गरेको हो । आज एमाले पार्टी कार्यालयमा धरान कार्यपालिकाबाट अस्वीकृत निर्णयसहित सार्वजनिक गरेपछि सन्चारकर्मीले विषयबारे जिज्ञासा राखेका थिए ।

बराह बचत तथा ऋण सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्ने प्रस्तावलाई अस्विकृत गरिएको सन्दर्भमा जवाफ दिंदै नेता इवारमले नगरप्रमुख र स्थानीय तहले विधि, प्रक्रियाअनुसार अघि बढ्नु पर्ने बताए । उनले भने, 'बराहलाई सङ्कटग्रस्त घोषणा गर्दा १८ हजार पीडित लगानीकर्ता र वचतकर्ताको भविष्य के हुने?' नेता इवारमले पार्टीले राजनीति नगरेको भएर बृहत् छलफल बहस मार्फत अघि बढ्नुपर्ने बताए ।

पीडितहरुलाई बढीभन्दा बढी राहत पुग्ने गरी छलफल गर्नु पर्ने भएकाले 'होमवर्क' नपुगेको उनले बताए ।

कानुन मस्यौदा समिति निर्माण नगरी ऐन, कार्यविधि नबनेका कारणले पनि सहकारीप्रति विकराल अवस्था आएको इवारमले बताए । धरानमा ८० वटा बचत तथा ऋण सहकारी सङ्घ, प्रदेश र स्थानीय सरकारको मातहतमा छन् । तर नगरले सहकारीलाई नियमन गर्ने ठोस नीति निर्माण गर्न नसकेको एमालेको संसदीय दलको भनाइ छ । 

Cpn Uml Dharan press meet

कार्यव्यवस्था परामर्श समिति छैन, टिम बनाउने प्रयत्न विफल

प्रदेश सरकार तथा सङ्घीय सरकारले अभ्यास गरिरहेको कार्यव्यवस्था परामर्श समितिजस्तै नगर कार्यपालिकामा निर्णयार्थ प्रस्ताव पेश गर्नुअघि छलफलका लागि समिति निर्माण गर्ने नगर प्रमुख राईले प्रतिबद्धता जनाए पनि समिति निर्माण हुन नसकेको दलका नेता इवारमले बताए ।

'समिति निर्माण भएको भए यस्तो परिस्थिति आउने नै थिएन नि' पत्रकार भेटघाटमा इवारमले भने, 'मेयरले सबै पार्टीका ससदीय दलका नेता सम्मिलित परामर्श समिति निर्माण गर्ने आश्वासन दिनुभएको थियो, तर निर्माण हुन सकेको छैन ।'

स्थगन तथा अस्वीकृत प्रस्ताव सार्वजनिक
एमाले  ससदीय दलले कार्यपालिकामा प्रस्तावका रुपमा लगिएको केही बुदाहरु बैठकबाट अस्वीकृत भएको सार्वजनिक गरेको छ ।
बैठकमा बराह बचत तथा ऋण सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्ने प्रस्तावलाई अस्विकृत गरिएको छ । त्यस्तै  लुम्बिनी गजुरमुखी जेभीलाई मिसगिटी उपलब्ध गराउने विषयसमेत कार्यपालिकाले अस्वीकृत गरेको छ ।

अस्वीकृत गरिएका अन्य प्रस्तावमा विविध शैक्षिक कार्यक्रम सञ्चालन निर्देशिका अध्ययन गर्ने र अर्को बैठकमा पेश गर्ने गरी स्थगत गरिएको छ । कार्यपालिकाबाट पार्किङ शुल्क ठेक्का लगाउने प्रस्ताव स्थगन गरिएको छ । सवारी पार्किङ शुल्क (मोटर साइकल र साना निजी सवारी साधन) उठाउने प्रस्ताव स्थगन गरिएको छ । निजी सवारी साधन सहुलियतको प्रस्ताव स्थगन गरिएको छ भने भारतीय भूपू सैनिकहरुको सामुदायिक भवनको विषयमा सम्बन्धित वडाध्यक्षहरुको उपस्थितिमा निर्णय गर्ने गरी कर्यपालिकाबाट स्थगन गरिएको छ ।
एमाले संसदीय दलले आगामी दिनमा कार्यपालिकाका सबै निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएको छ । पार्टीले निर्णयका सन्दर्भमा जनताका गुनासा र पत्रकारका जिज्ञासालाई सम्बोधन गर्ने नीति लिएको बताएको छ ।