ललित–अम्बर डिपो कपको १८ औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । सुनसरी जिल्ला स्तरीय प्रतियोगिताको यो संस्करणमा धरानका १२ र धरानबाहिरका ४ गरी १६ विद्यालयले सहभागिता जनाउने निधो भएको छ ।

डिपो स्कुलको खेल मैदानमा हुने उद्घाटन खेलमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा धरानबाट आयोजक डिपो स्कुल, कार्मेल, नेपाल पुलिस, एक्वा सेकेन्डरी, माउन्ट हर्मन, दिल्ली पब्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रेन, हिबिसक, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएका छन् । यस्तै धरानबाहिरका हिमशिखर तरहरा, मर्निङ स्टार भरौल, वराह राइजि चतरा र लर्ड वुद्ध स्कुल रामधुनि सहभागी छन् । 

प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ७ हजार १ सय ११ रुपैयाँ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कुष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै बर्सेनि अयोजना हुने डिपो कपअन्तर्गतको दिलबहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । डिपो कपको पहिलो चरणमा पराजित टिमले दिलबहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछन् । 

प्रतियोगिता मङ्सिर १५ देखि २२ गतेसम्म धरानस्थित डिपो स्कुलको खेल मैदानमा आयोजना हुने प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।