खोटाङको दुर्गम गाउँ बराहपोखरीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासीले लाभ लिएका छन् ।

जिल्ला सदरमुकाम दिक्तेल बजारबाट दक्षिण भेगमा पर्ने यस क्षेत्रमा पुग्न दिक्तेलबाट सवारीसाधनमा करिब आठ घण्टा लाग्दछ ।   यहाँका मानिस बिरामी भएर उपचार गर्नुपरेमा अझै पनि उदयपुरको गाईघाट, मोरङको विराटनगर वा काठमाडौैँमै धाउने गर्दछन् । बराहपोखरीबाट दिक्तेलभन्दा गाईघाट नजिक पर्छ तर कच्ची बाटो भएको र कोशी नदी तर्न झोलुङ्गे पुलमात्रै भएकाले उदयपुर तरेपछि अर्काे गाडी चढ्नुर्छ ।

पूर्वाधार र सामाजिक विकासका दृष्टिले पछाडि परेको यस दुर्गम गाउँ बराहपोखरीका–१ मा जगतलाल गिरी प्रतिष्ठानले मङ्सिर १४ र १५ गतेका लागि सञ्चालन गरेको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिब एक हजार दुई सयले सेवा लिएका छन् ।

शिविर सञ्चालनका लागि काठमाडौँबाट वरिष्ठ चिकित्सकसहित करिब ४० स्वास्थ्यकर्मीको टोली बुधबार राति बराहपोखरी आइपुगेका थिए । स्थानीय शङ्खेश्वरी माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा मुटुरोगतर्फ जन्मजात समस्या, मुटुको बाथरोग र शल्यक्रिया गरी औषधि सेवा गरिरहेका गरी करिब चार सयले जाँच गरेका थिए भने अन्य रोगतर्फ करिब आठ सयले परीक्षण गराएका छन् । अन्यतर्फ सामान्य रोग, स्त्रीरोग, चर्मरोग, दाँत, पेट र बालरोगका परीक्षण तथा गरिएको थियो । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

वरिष्ठ अर्बुद रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल, सहिद गङ्गालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्ल, वरिष्ठ दन्त चिकित्सक अजय साहको नेतृत्व र सुपरीवेक्षणमा स्वास्थ्य जाँच गरिएको थियो । पैतीस वर्षदेखि प्यारालाइसिस भोगिरहेका र मुटुको समस्या भएका स्थानीयवासी सन्तोष तामाङले आफू मुटु जाँचका लागि टाढासम्म जान नसकिरहेका बेला शिविरबाट प्रत्यक्ष सुविधा पाएको अनुभव सुना । शिविरमा चार पाँच घण्टासम्मको पैदलयात्रा गरेर पनि मानिस आएका थिए । वरिष्ठ अर्बुदरोग विशेषज्ञ डा बरालले दुर्गम क्षेत्रसमेत गरी आफूहरूले हालसम्म सयभन्दा बढी स्थानमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा र सचेतना दिएको जानकारी दिए ।

बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले कुनै बेला यस गाउँमा सिटामोलसमेत नपाइने अवस्थाबाट अहिले स्वास्थ्यचौकी र बर्थिङ सेन्टर सञ्चालन हुनुले स्थिति सुधारोन्मुख रहेको बताउँदै शिविरको सञ्चालनबाट निकै राहत मिलेको जनाए । उनले गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माणका लागि जग्गा पहिचान भइसकेको र नेपाल सरकारबाट यस वर्ष रु २० लाख बजेट विनियोजन  भएकाले अब काम अगाडि बढ्ने बताए ।

दिवङ्गत जगतलाल बराहपोखरीमै जन्मिएकाले उहाँको स्मृतिमा स्थापित संस्थाले दुर्गम स्थानमा स्वास्थ शिविर सञ्चालन गरिएको प्रतिष्ठानका कोषाध्यक्ष एवं जगतलालका छोरा सुवोध गिरीले जानकारी दिए । प्रतिष्ठानका सदस्यसचिव अञ्जय गिरीले सीमित स्रोतसाधनका बीच विभिन्न संस्था र स्थानीय तहको सहयोगमा आफूहरूले शिविर सञ्चालन गरेको तथा जटिल रोग भई थप उपचार र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौँ वा अन्य स्थानमा लगेर पनि निःशुल्क सेवा दिने योजना रहेको बताए ।

बराहपोखरी –१ वडाध्यक्ष ढकबहादुर कार्कीले आफूहरूको दुर्गम गाउँमा वरिष्ठ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य जाँच हुनुले स्थानीयवासीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुगेको बताए । शिविरको सञ्चालनमा पूर्वप्रहरी नायब महानिरीक्षक उत्तम कार्की, स्थानीय युवा र विद्यार्थीले स्वयंसेवक भई सघाएका थिए ।

धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि भौगोलिक विकटताका कारण यस गाउँपालिकामा पूर्वाधार र सामाजिक विकासले गति लिन नसकेको देखिन्छ । यस गाउँमा गत वर्षमात्रै बिजली बत्ती बल्न थालेको थियो ।