प्रतिभा भएर पनि ठूला प्रतियोगितामा सहभागी हुन नपाएका नयाँ कलाकारका लागि ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गरिएको छ । 

ओझेलमा परेका प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । 

हाङ अनलाइन म्युजिक प्रालिले आज भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतिस्पर्धीका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो । 

यही मङ्सिर २५ गतेसम्म अनलाइन आवेदन लिएर पुस १ गतेदेखि अडिसन सुरु गरिने कार्यक्रमका निर्देशक टिआर लिम्बूले जानकारी दिए । 

सहभागिताको लागि आवेदन शुल्क रू एक हजार लाग्ने जनाउँदै उक्त रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरेर रसिदसहित आवेदन दर्ता गर्नुपर्ने उनले बताए । 

आयोजकका अनुसार प्रतियोगितामा तीन चरणका अडिसन सञ्चालन गरिने छ । पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ । अडिसनका लागि ‘ह्वाटस् एप’मा गीत गाएर भिडियो पठाउनुपर्ने निर्देशक लिम्बूले बताए । उनका अनुसार पहिलो अडिसनबाट छनोटमा परेका सहभागीले दोस्रो चरणको लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत पठाउनुपर्ने छ । 

सो चरणमा छनोट भएका सहभागीलाई सुनसरीको धरानमा प्रत्यक्ष सहभागीतामा लाइभ राउण्डमा सहभागी गराइने लिम्बूको भनाइ थियो । उनका अनुसार पूर्वी स्टारको विजेताले चार लाख रुपैयाँसहित सुनको सिक्री, ट्रफी, प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अवसर पाउने छन् । 

दोस्रो हुनेले एक लाख ५० हजार रुपैयाँको साथमा ट्रफी, प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अवसर साथै तेस्रो विजेताले ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अवसर पाउने छन् । तेस्रो चरणदेखि प्रत्येक राउण्डका उत्कृष्टले एक–एक थान गितार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा सङ्गीतकार खगेन्द्र यक्सो र गायक कुसल थलङ रहेका छन् । 

पूर्वी स्टार गायन प्रतियोगितामा सबैले सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले प्रतियोगिताको प्रचारप्रसारमा यहाँका पत्रकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नेपाल पत्रकार महासङ्घका सचिव अर्जुन बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यकारी निर्देशक लिम्बू, संयोजक सुमन लिम्बू, पत्रकार महासङ्घ उपाध्यक्ष शारदा तामाङ, सदस्य गोकुल भुजेललगायतको सहभागिता थियो ।