महेन्द्र बहुमुखी क्याम्पस गेट अगाडि सोही क्याम्पसका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि उमेश परियारको समूहद्वारा आक्रमण गरिएको भन्दै समाजवादी युवा संघ नेपालले घटनाको भत्र्सना गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टीसम्बद्ध युवा संघले तत्काल कानुनी दायरमा ल्याएर घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
‘सभापति नै असुरक्षित भएको अवस्थामा सिंगो विद्यार्थीहरु नै त्रसित बनेको अवस्था छ । दोषीलाई कारबाही गरी आम विद्यार्थीलाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गराउन हामी माग गर्दछौ,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटनालाई सामान्य ठानी दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको खण्डमा हाम्रो संगठन समाजवादी युवा संघ नेपाल जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनीसमेत दिन चाहान्छौं ।’
कुनै पनि समस्याको समाधान वार्ता र संवादको प्रकृयाबाट गर्न सकिने उपाय हुँदाहुँदै पनि आक्रमणकारीले भौतिक रुपमा हात हतियारसहित ज्यान लिने गरी आक्रमण गरिएको समाजवादी युवा संघको आरोप छ ।