अध्यादेशमार्फत् ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् । 

आजको बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी गरेको बेला एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । 

कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद सचिवालयमा दर्ता गरिएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । प्रमुख सचेतक भण्डारीसँगै प्रदेशसभा सदस्यहरू विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले पनि प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ ।

उनीहरूले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव दर्ता गरेका हुन् । बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि समय दिएको थियो ।

 मुख्यमन्त्री केदार कार्कीले अर्थमन्त्रीको हैसियतमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशमा ५० करोड थपेर प्रतिस्थापन विधेयक ल्याएका छन् ।

बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरूप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । प्रस्ताव पारित भए सरकारको बजेट र कार्यक्रम फेल भएको मानिने संसदीय अभ्यास छ ।