प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् । 

प्रधानमन्त्री आज राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । 

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रम प्रचण्डले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन् ।

उनले संयुक्त अरब इमिरेट्सको ५२ औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । 

प्रचण्डले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ । 

उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् । 

प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनेछन् ।