जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वराहक्षेत्र नगरपालिका १ र २ ले चन्दा तथा न्यानो लुगा सहयोग हस्तान्तरण गरेको छ ।
वराहक्षेत्र २ को सभाहलमा आज आयोजना गरिएको औपचारिक कार्यक्रममा भारतको मुम्बई निवासी चतराकी शान्ति ठटालबाट ९ हजार रुपैयाँसहित सङ्कलित गरिएको नगद ५९ हजार ३ सय रुपैयाँ र सानो–ठूलो ज्याकेट १८ थान, हाइनेक ११ थान, ट्र्याकसुट १४ थान, टि–सर्ट १७ थान, जिन्स पेन्ट ९ थान र २ थान टोपी वडाध्यक्ष होमप्रसाद गौतमको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
माओवादी केन्द्रका वराहक्षेत्रका कार्यकर्ता र वडाध्यक्ष गौतमले माओवादी केन्द्रका कोशी प्रदेश समिति उपाध्यक्ष पृथ्वी किरातीलाई संयुक्त रुपमा नगद र जिन्सी हस्तान्तरण गरेका छन् । नेता किरातीसहितको टोलीले भूकम्पपीडितलाई सामग्री हस्तान्तरण गर्ने पार्टीका २ नं. वडा इञ्चार्ज बलबहादुर थापाले जानकारी दिए ।
प्रमुख अतिथिका रुपमा आमन्त्रित नेता किरातीले पार्टीका कार्यकर्ता र वडाध्यक्षले सुदुरका दुःखमा परेका नेपालीलाई गरेको सहयोगले थोरै भए पनि राहत पुग्ने बताए ।
हिमाल, पहाड, मधेस जहाँ भए पनि दुःख पर्दा सबै नेपालीले जात, समुदाय, धर्म, र राजनीतिभन्दा माथि उठेर उदारता र विशालता देखाउनुपर्ने नेता किरातीले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रको भातृ संगठन दलित मूक्ति मोर्चाका प्रदेश सदस्य पर्शुराम कार्की ढोली, पार्टीकी नगर कमिटीकी निवर्तमान वरिष्ठ उपाध्यक्ष शारदा खडका, नगर सह संयोजक तुलसी पाण्डे, प्रदेश सदस्यद्वय अशोक राई, धरान इञ्चार्ज चोत्लुङ र वराहक्षेत्र वाईसीएल इञ्चार्ज प्रेम घिमिरेलगायतको उपस्थिति थियो । यस्तै नेपाली कांग्रेस वराहक्षेत्रका कार्यवाहक वडा सभापति चन्द्रबहादुर मगर, सगरमाथामा युवा क्लबका अध्यक्ष विदुर भट्टराई, नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रदीप कार्की, एमाले वडा सचिव यादव गौतमको समेत उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन हिरालाल गजमेरले गरेका थिए ।
































