कोशी प्रदेश सरकारको बजेट सम्बन्धि प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको  भन्दै  प्रदेशसभा बैठकमा नेकपा(एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । 

आज बसेको प्रदेशसभाको बैठकको कारबाही शुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका हुन । 

सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिएपछि एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले आफ्ना कुरा राखेका थिए ।

मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरुसँग भएको सहमतिविपरित बजेट आएको बताए । 

‘सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिनुपर्नेमा त्यसो नगरेको र प्रतिपक्षका सांसदहरुबाट आएको कार्यक्रमलाई छानीछानी हटाएको देखियो’ उनले भने, ‘सांसदले माग पेश गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्न मूल प्रश्न हो ।’

मुख्यमन्त्रीको रबैयाँको कारण बजेटलाई समर्थन गर्नसक्ने अवस्था नरहेको भन्दै मगरले सरकार नै संकटमा पर्ने चेतावनी दिएका छन् । यसअघि सांसदले ल्याएका डेढ करोड बराबरको योजना समावेश गर्ने सहमति भएपनि ५० देखि ७५ करोडको मात्र समावेश गरेको भन्दै बजेटमा मतदान गर्ने अवस्थासम्म मुख्यमन्त्री गम्भीर नभए प्रदेश सरकार संकटमा पर्ने उनले बताए ।