बेलायती (गोर्खा) सेनामा कार्यरत गायक किसन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिनेश ‘काजी’ बान्तवाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देवेश राईको एरेञ्ज, मिक्सिङ र मास्टरिङ रहेको ‘यो मन मेरो दोमन भो’ गीत किसन राईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भीमफेदी गाइजका निर्मलकुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाइबा, अन्जान मोक्तान ‘कान्छा’ र गायक किसनको अभिनय छ । गीत सेवा रेकर्डिङमा रेकर्ड गरिएको हो ।

पवन सुस्लिङको छायाङ्कन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न–भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई विषयवस्तु बनाइएको छ । किसनको पहिलो गीती एल्बम (जून) सन् २००४ मा बजारमा आएको थियो । गायक बेलायतमा विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छन् भने सामाजिक अभियन्ताको रूपमा पनि सक्रिय छन् ।