झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाइमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।
उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो । प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उनको भनाइ थियो । “यो प्रविधिबाट धानखेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ” निमित्त प्रमुख विष्टले भने “यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।”
छरुवा धानखेतीका लागि मुख्य समस्या झार रहेको छ । कृषकले झार व्यवस्थापन गर्नसके कम लागतमा राम्रो उत्पादन लिनसक्ने उनले उल्लेख गरे । धान रोप्न आधुनिक उपकरणबाट गरिएको खेतीसमेत राम्रो भएको छ । किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञानकेन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा आधुनिक उपकरणमार्फत धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेकोे थियो । उक्त धान खेतीमासमेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताए ।
उपकरणका माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ । यसरी धान रोप्नका लागि प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वषमा रू १० लाख अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
चैते धान रोप्ने कृषकलाई उपकरण प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको उनले जानकारी दिए ।
उत्पादकत्व बढ्ने अनुमान
झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष चार लाख ३० हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने कृषि ज्ञानकेन्द्रको प्रारम्भिक अनुमान छ । गत वर्ष जिल्लामा धानको उत्पादन चार दशमलव ८९ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यो वर्ष पाँच मेट्रिकटन पुग्ने कार्यालयले जनाएको छ ।
“नमूना सङ्कलन गरिरहेका छौँ”, निमित्त प्रमुख विष्टले भने, “यो वर्ष धान उत्पादन बढी भएको पाएका छौँ, चार÷पाँच दिनमा यकीन तथ्याङ्क आउँछ ।” जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दीबारीलगायत स्थानको नमूना सङ्कलन गर्दा उत्पादन राम्रो भएको पाइएको उनको भनाई थियो ।
जिल्लाको ८७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यो वर्ष ८५ हजार सात ५० हेक्टरमा धानखेती गरिएको छ । पन्ध्र वटा पालिकामध्ये सबैभन्दा बढी गौरीगञ्ज र सबैभन्दा कम दमकमा धानखेती भएको कार्यालयले जनाएको छ ।