बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागका विभागीय प्रमुखसमेत भइसकेका प्रा.डा. पशुपति चौधरीसँग हाडजोर्नीमा भइरहेको समस्या तथा नयाँ प्रविधिका विषयमा ब्लाष्ट दैनिकका लागि खिलानाथ विकले गरेको कुराकानीको सम्पादित अंश:

हाडजोर्नीमा के कस्ता समस्या देखापरिरहेका छन ?
–हाडजोर्नीको समस्यालाई विशेषगरी ५–६ प्रकारका वर्गीकृत गर्न सकिन्छ । पहिलो, ट्रोमाटिकः (सडक दुर्घटना र भौगोलिक बनावटका कारणले मानिसहरू लडेर हुने समस्या । दोस्रो, इन्फ्याक्टिभः हाडजोर्नीमा इन्फेक्सनका कारणले हाडजोर्नी बिग्रने समस्या । तेस्रो, न्युप्लाष्टिकः हाडजोर्नीको क्यान्सर भएर हुने समस्या । इन्फ्लामेट्रिकः बाथरोग, युरिक एसिडका कारणले हाडजोर्नी बिग्रने समस्या । डिजेनिटी उमेरको कारणले जोर्नीमा समस्या देखिन्छ । जोर्नी खिइने, गल्ने समस्या वेष्ट प्रोसेक्स भन्छौँ, अहिले समस्या बढ्न थालेको छ । बूढापाकाको सङ्ख्या वृद्धि भएकाले वेष्टो प्रोसेक्स समस्या वृद्धि भएको हो । हामीकहाँ चाहिँ रोड ट्राफिक दुर्घटना प्रमुख समस्या हो ।

प्रतिष्ठानमा हाडजोर्नी उपचारको अवस्था कस्तो छ ?
–हाडजोर्नी उपचारमा अप्रेसन थिएटर, इक्युप्मेण्ट्स र जनशक्तिले निर्धारण गर्दछ । हामीसँग जनशक्तिको अभाव छैन । इक्युप्मेण्ट्स इन्स्ट्रुमेण्ट्सको समस्या हो । लिमिटेड स्रोतसाधनमा बेस्ट सर्भिस दिने गरेका छौँ । जनशक्ति दक्ष भएर मात्रै बिरामीको आउटकम्स राम्रो हुँदैन । त्यसका लागि मेडिकल स्रोतसाधन पनि आवश्यक पर्छ । हामीले त्यसको अभावमा नै काम गरिरहनु परेको छ । नेपालमा जे भए पनि प्रतिष्ठान राम्रो भए पनि अन्य मुलुकको तुलनामा मेडिकल इन्स्ट्रुमेण्टमा पछाडि नै छौँ ।

बिरामीको अवस्था कस्तो छ ?
–हाडजोर्नीका बिरामी बढिरहेका छन् । सवारीसाधनको सङ्ख्या पनि वृद्धि भएको छ । गाडीमा चढ्ने मान्छे बढिरहेका छन्, रोडको अवस्था राम्रो छैन । जसका कारणले रोड ट्राफिक दुर्घटनाले हुने बिरामीको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । अहिले पहाडतिर पनि रोड बढेको छ । दैनिक साढे तीन सयदेखि चार सय बिरामी ओपिडीमा आउँछन् । औषत आयु बढेको, सङ्क्रामक रोगहरू पनि वृद्धि भएकाले पनि समस्या हरू देखिएका छन् । जाडो महिनामा अझै बिरामीको चाप बढ्छ । मौसमको कारणले मानिसहरू घरबाहिर जाँदैनन् । भित्र मात्र बस्दा जोर्नीहरू स्टिप हुन्छ । जाडो महिनामा जोर्नीका टिस्यु र फ्रुस्टहरू शिथिल हुन्छन् । मोरथिक्स र भिस्कस हुन्छन्, जसका कारणले जोनीस्को समस्या वृद्धि हुन्छ ।

नसा च्यापिने, ढाड दुख्ने समस्या बढेको हो ?
–एकदम । प्रतिष्ठानको ओपिडीमा साढे तीनसय, चार सय बिरामीमा ६०–७० जना नसा च्यापिने र ढाड दुख्ने समस्या लिएर आएका हुन्छन् । 

के कारणले नसा च्यापिने र ढाड दुख्ने समस्या हुन्छ ?
–पेसाका कारणले समस्या मेकानिलक ब्याककेक हुन्छ । नसाको कारण हुन्छ । इन्टरभर्टिकल डिस्क हुन्छ । त्यो पछाडि स¥यो भने नसालाई समस्या हुन्छ । अर्को स्पाइलन कर्डको कारणले पनि समस्या हुन्छ । कुनै इन्फेक्सन भयो, ट्युमर भयो भने पनि समस्या हुन्छ । अर्को हड्डीमा रोग लागेका कारणले समस्या हुन्छ । ढाडको वरिपरिको मासुहरूमा समस्या भयो भने समस्या हुन्छ । अहिले सबैभन्दा बढी देखिएको भने प्रल्याब्स इन्टर्नल डिस्क, जुन हड्डीको बीचमा कुरकुरे हड्डी हुन्छ, त्यसलाई इन्टरभर्टिकल डिस्क भन्छ । त्यो डिस्क पछाडि सरेर नसालाई असर गरेपछि मान्छेलाई ढाड दुख्ने समस्या आउँछ । मान्छेलाई हिँड्न गाह्रो हुने, झमझम गर्ने, पोल्ने, दिसापिसाब रोकिने समस्या ल्याएर आउने गर्छ । त्यसको लागि पहिले औषधि,  शारीरिक अभ्यास, लाइफ स्टेण्ड मोडिफिकेसन फिजियोथेरापी गर्नुपर्छ र त्यसले पनि भएन भने शल्यक्रिया गर्नुपर्छ ।

यस्तो रोग लाग्न नदिन के गर्न सकिन्छ ?
–यसका तीन–चार वटा कारण छन् । पहिलो डाइट खानुप¥यो । क्याल्सियमयुक्त खानेकुरा खानुप¥यो । प्रोटिनयुक्त खाना खानुप¥यो । डिसिप्लिन मेण्टेन गर्नुप¥यो । धेरै भारी वजन उठाउनु भएन । निहुरिएर काम गर्नु भएन । लचकदार बेड प्रयोग गर्नु भएन ।

कुन उमेर समूहमा धेरै यस्तो समस्या देखिन्छ ?
–विशेष गरेर २० देखि ५० वर्षका मानिसहरूलाई यो समस्या हुन्छ । शारीरिक काम बढी गर्नेलाई पनि देखिन्छ । भारी वजन उठाउने, एउटै पोजिसनमा घण्टौँ काम गर्नेलाई पनि यो समस्या देखिन्छ । एक्सरसाइज गरेर यो समस्या न्यूनीकरण गर्न सकिन्छ । महिलामा महिनावारी बन्द भएपछि हार्मोन कम हुन्छ । त्यो हार्मोन नभएपछि मानिसको हड्डी गलेर जान्छ । पहिला ०.३ प्रतिशत गल्थ्यो भने महिनावारी बन्द भएपछि हड्डीमा तागत हुँदैन । त्यो सामान्य अवस्थामा पनि समस्या भयो । भिटामिन डी कम भएकाले पनि समस्या हुन्छ ।

मानिसको हड्डी खिइने, छोटो हुने समस्या पनि हुन्छ ?
–हजुर, हुन्छ । सबैभन्दा बढी घुँडाको हड्डी खिइने समस्या देखिएको छ । जोर्नीमा चिल्लो पदार्थको कमी, जोर्नी बनाउने हड्डी टुटफुट, उमेर बढेसँगै चिल्लोे पानी सुक्नु र कुनै युरिक एसिड, बाथका कारणले हड्डी खिइने गर्दछ ।

प्रतिष्ठानमा उपचारको क्रममा के कस्ता समस्या देखा पर्छन् ?
–यहाँ सिस्टममा काम हुँदैन । मेडिकल प्रोफेसन भनेको टीम वर्क हो । बिरामी जब इमर्जेन्सीमा छिर्छ, तब उपचार सुरु हुन्छ । पहिलो हातखुट्टाभन्दा जीवनको महŒव हुन्छ । त्यसका आधारमा उपचार हुन्छ । हामीसँग बिरामीको उपचारमा साधनको अभावमा समस्या हुने गरेको छ । हामीसँग लिमिटेड अप्रेसन थिएटर छन्, त्यसैले आज हुने अप्रेसन हप्तौँ कुर्नुपर्ने अवस्था छ । दोस्रो, जनशक्ति, सर्जनले अप्रेसन गर्ने हो, बेहोस गर्ने अर्कै डाक्टर हुन्छ । अरू पनि एलाइड सर्भिसहरू जोडिएको हुन्छ । सिस्टर, स्टाफ नर्सहरू जोडिएको हुन्छ । सबैको आ–आफ्नो रोल हुन्छ । हामीसँग को–अर्डिनेसनको अभाव छ । जनशक्ति पनि अभाव छ । किनकि बेहोसको डाक्टरले बेहोस नबनाइदिएसम्म अप्रेसन गर्न सक्दैनौँ । उहाँहरू पनि बिजी भएको अवस्था छ । जुन लेभलको स्रोत साधन हुुनुपर्ने हो त्यो प्रतिष्ठानमा छैन । ओटी टेबल्स छैनन् । इमेज इन्टर्न सेवा छैन । एमआरआई नभएको दशकौँ भइसक्यो । जसले गर्दा बिरामीले सास्ती पाइरहेका छन् । विशेषज्ञ सेवाको हकमा नेपाल र भारतको कुनै पनि अस्पतालभन्दा कम छैनौँ तर, हामीसँग इक्युप्मेण्ट र इन्स्ट्रुमेण्ट छैन । वर्किङ इन्भाइरोन्मेण्ट जुन कल्चरमा हुनुपर्ने हो, त्यो छैन । जसको अभावले समयमा उपचार पाउने अवस्था छैन । कम्तिमा ५–६ जना जनशक्ति चाहिन्छ ।

हाडजोर्नीको सामान्य शल्यक्रिया गर्दा पनि मानिसको मृत्यु भएको सुनिन्छ । सामान्य शल्यक्रियामा कसरी मृत्यु हुन्छ ?
–मानिसको हातखुट्टाभन्दा जीवन धेरै महत्वपूर्ण हुन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता जीवन बचाउने हुन्छ । मानिसको मृत्यु तीन–चारवटा कारणले हुन्छ । पोलिट्राका कारणले हुन्छ । पोलिट्रा भनेको हातखुट्टासँगै अन्य अङ्ग मुटु, टाउकोलगायतमा घाउ लाग्नाले मृत्यु हुन सक्छ । नर्मल हातखुट्टाका कारणले मर्ने सम्भावना कम हुन्छ । ब्लड कम भएमा मृत्यु हुनसक्छ । पोष्ट अपरेटिभमा हुन्छ । बच्चा र बूढापाकाको रिस्क बढी हुन्छ । फ्याट इम्भोलिजमका कारण पनि मर्न सक्छन् । अन्य रोग छ (मुटुमा प्वाल छ) भने त्यस्तो बिरामीलाई बेहोस गर्दा मर्न सक्छन् तर, बिरामी आफन्तलाई हाडजोर्नीका कारणले म¥यो भन्ने पनि हुन्छ । अन्य पहिले नै रोग भएका बिरामीको मृत्यु हुन सक्छ । इम्युनिटी पावर कम भएका बिरामीको पनि मृत्यु हुन सक्छ । मैले भनेको के हो भने हाडजोर्नीको अप्रेसन हँुदैछ,  बिरामीलाई मुटुको समस्या देखियो भने तत्काल मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) आउनुपर्छ, त्यो हाम्रोमा अभाव छ ।

उपचारको क्रममा कुनै अविस्मणीय कुनै क्षण छ ?
–धेरै नै छ । एउटा केशमा डिप्रेस पनि भएका छौँ । एउटा रङ्गेलीको बिरामीले साथीहरूसँग बाजीमा हारिसकेपछि खुकुरीले हात छिनाए । हातको टुक्रा लिएर हामीकहाँ ल्याए । हामीले त्यो हात जोड्न सफल भयौँ । हात पूर्णरूपमा छिनेको थियो । हामीले रिस्कमा नै उपचार गरेको हो । कतिपय बिरामीको आफन्तसँग कुरा गर्दा कोशिस गरिदिनू भनेपछि ६ घण्टा लगाएर अप्रेसन ग¥यौँ । हात जोडियो । अहिले नर्मल हात चलाइरहनुभएको छ । बिरामीको अप्रेसन गर्दा हामी तरबारको धारमा हिँडिरहेका हुन्छौँ । अलिकति दायाँ–बायाँ भएमा खतरा छ । सानो मात्र कुराले पनि बिरामीको हातखुट्टा नचल्न सक्छ । हामी त्यतिबेला डिप्रेसमा पर्छौं, जतिबेला जुन आशा लिएर उपचार गछौँ, अपेक्षाकृत नतिजा नआउँदा निराशा हुन्छ । डाक्टरले कहिले पनि बिरामीलाई इम्प्रुभ नहोस् भन्ने चाहँदैन । म सधैँ बिरामीको अप्रेसन गर्नुभन्दा पहिले र गरिसकेपछि भगवानसँग ‘हे भगवान् यो बिरामी राम्रो होस्’ भनेर प्रार्थना गर्छु । बिरामीले भन्दा बढी हामी प्रार्थना गर्छौं । हाम्रा साथीहरूले गरेको अप्रेसनमा एकजना बिरामीको हेर्दाहेर्दै आधा घण्टामै मृत्यु भयो । फ्याट इम्बोलिजम भएर हर्ट अट्याक भई मृत्यु भयो । यस्तो बेला हामी डिप्रेस्ड हुन्छौँ । कम्प्लिकेसन जहाँ पनि हुन्छ । सर्जनलाई बिरामीको कम्प्लिकेसन थाहा हुनुपर्छ र कम्प्लिकेसन भएको समयमा ट्याकल गर्ने क्षमता सर्जनमा हुनुपर्छ । कुन समयमा के उपचार गर्ने भन्ने जानकारी हुनुपर्छ । कहिलेकाहीँ मिस मेनेजमेण्टका कारणले पनि बिरामीको मृत्यु हुन्छ । नेपालमा स्वास्थ्यमा व्यापारीकरणका कारणले  कतिपय ठाउँमा नगर्नु पर्ने कुरा पनि गरेर समस्या भएको छ । 

प्रतिष्ठानका विषयमा केही भन्नुहुन्छ ?
–बीपी प्रतिष्ठान अहिले मिसन, भिजन गोलबाट विमुख भएको छ । पदाधिकारी नियुक्ति राजनीतिक आस्थाका आधारमा गरिनु र आर्थिक लेनदेनका आधारमा गरिने नियुक्तिले प्रतिष्ठान उँभो लाग्दैन । सरकारले स्वच्छ छवि भएका क्षमतावान र मिसन, भिजन भएका व्यक्तिलाई नियुक्त नगरेसम्म प्रतिष्ठान सुध्रिँदैन । अर्को कुरा, वर्क कल्चर र वर्किङ इन्भाइरोन्मेण्ट नहुनुमा रिवार्ड र पनिस्मेण्टको अभाव भयो । प्रतिष्ठानका पदाधिकारी, शिक्षक, कर्मचारी कहीँ बिक्दैनन्, यहाँ त्यस्ताको हालीमुहाली छ । जो शिक्षक काम गरिरहेको छ, उसको केही चासो छैन । जसको प्रतिष्ठानमा योगदान छैन, उसकै हामीमुहाली छ । जसले गर्दा सक्षमहरूमा पनि वितृष्णा छाएको छ । यस्तै जो आयो आफ्नो मान्छे भर्ती गरेर ओभर स्टाफिङले प्रतिष्ठान उँभो लाग्न सकेको छैन । जहाँ मान्छे चाहिएको छ, त्यहाँ मान्छे छैन, जहाँ आवश्यक नै छैन, त्यहाँ मान्छेले भरिदिएको छ । प्रतिष्ठानको खरिद बिक्री अपारदर्शी छ । सबै ठाउँमा कमिसनतन्त्र व्याप्त छ । आर्थिकरूपमा पारदर्शिता भए धेरै हदसम्म प्रतिष्ठानमा सुधार हुन्छ । प्रतिष्ठानमा अनुशासनको पनि कमी छ । पदाधिकारी आफै अनुशासनहीन भएपछि तलको मान्छेलाई अनुशासनमा राख्न सक्दैन । यस्तै, नागरिक समाज बुद्धिजीवी र स्थानीय जनताको प्रतिष्ठानप्रति चासो नहुनु पनि प्रतिष्ठान डुब्नुको अर्को कारण हो ।