छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । वराहक्षेत्र १ स्थित सप्तकोशी नदी दुर्वासाघाटमा भक्तालु, बर्तालुले छ्ठपूजाको महत्वपूर्ण दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ।

दुर्वासाघाटस्थित सप्तकोसी नदीमा पूजाउपासना गर्ने र छठ व्रत लिने घरपरिवारको सङ्ख्या १ सयको हाराहारीमा रहेको सूर्य नारायण मन्दिर तथा छठ महापर्व संरक्षण मञ्चका अध्यक्ष केदार साहले जानकारी दिए । व्रतालुबाहेक स्थानीयको समेत छठपूजाका दिन उल्लेखीय सहभागिता रहने गरेको छ ।

छठ पर्वको अन्तिम दिन मञ्चको निमन्त्रणामा स्थानीय विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा प्रसाद वितरणको कार्यक्रम हुनेछ । सप्तकोसी नदी किनारमा पर्व विशेष रुपले मनाइने मञ्चका अध्यक्ष साहले जानकारी दिए ।

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ ।

छठपर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठपर्व पनि एक मानिन्छ ।

यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।

सूर्य देवतालाई पहिलो दिनको अर्घ अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी यस दिन अर्घ दिइने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिइने अर्घका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ’ दिइन्छ ।

छठपूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा दिइने परम्परा रहेको छ । हुन त सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठपर्व मनाइन्छ ।

छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठपर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरी पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाडाँमा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खिरदेवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अर्घ अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिई उभिरहेका हुन्छन् ।

साँझको समयमा घण्टौसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिङ्गारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ । यस दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् ।

पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता श्रृष्टी सम्पूर्ण जीवको रक्षिकादेवी हुनुहुन्छ । प्रकृतिको छैठौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी रहेको छ । षष्ठीदेवीको पूजनको प्रचारप्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ ।

यस कारण छठि माता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकोले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ ।

ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । अर्को मान्यताका अनुसार छठपर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे । सूर्यको कृपाले उनी महान योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ ।

महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।