सूर्य उपासनाको महापर्व छठको तयारी सप्तकोसी नदी किनारमा सुरु गरिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको तयारीमा स्थानीय युवा धमाधम लागेका छन् ।


सप्तकोसी नदी किनारमा हर्षोल्लासका साथ मनाइने छठ महापर्वको तयारी सुरु गरिएको सूर्य नारायण मन्दिर तथा छठ महापर्व संरक्षण मञ्चका अध्यक्ष केदार साहले जानकारी दिए । तयारीका क्रममा सप्तकोसी नदी किनारमा छठघाट निर्माण थालिएको छ ।

छठ पूजालाई भव्य रूपमा मनाउन नदी किनारको सौन्दर्यीकरण गर्ने, स्वागतद्वार निर्माण गर्ने, पण्डाल लगाउने, बत्ती लगाउने काम सुरु गरिएको अध्यक्ष साहले जानकारी दिए । वराहक्षेत्र वडा नम्बर १ मा पर्ने दुर्वासाघाट नदी किनारमा छठघाट निर्माण गर्न समितिमा आवद्ध युवा लागिपरेका छन् । छठपूजा व्यवस्थापनका लागि श्रद्धालुबाट आर्थिक रकम सङ्कलन गर्ने कामसमेत सुरु गरिएको अध्यक्ष साहले बताए ।

छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्री केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँस र माटोबाट बनेका अन्य सामग्रीको जोहो गर्न थालेका छन् । यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ।

छठको पहिलो दिन व्रतालुले नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभरि उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ। यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर व्रत समाप्त हुन्छ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ।

दुर्वासाघाटस्थित सप्तकोसी नदीमा पूजाउपासना गर्ने र छठ व्रत लिने घरपरिवारको सङ्ख्या १ सयको हाराहारीमा रहेको मञ्चका अध्यक्ष साहले जानकारी दिए । व्रतालुबाहेक स्थानीयको समेत छठपूजाका दिन उल्लेखीय सहभागिता रहने गरेको छ ।

छठ पर्वको अन्तिम दिन मञ्चको निमन्त्रणामा स्थानीय विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा प्रसाद वितरणको कार्यक्रम हुनेछ । सप्तकोसी नदी किनारमा पर्व विशेष रुपले मनाइने मञ्चका अध्यक्ष साहले जानकारी दिए ।

सूर्यनारायण मन्दिर निर्माणमा सुस्तता

सूर्य नारायण मन्दिर तथा छठ महापर्व संरक्षण मञ्चले निर्माण गर्ने भनिएको सूर्यनारायण मन्दिर आवश्यक बजेट विनियोजन नहुँदा निर्माण सुरु हुन सकेको छैन ।

कम्पाउण्ड वाल निर्माण गरी सुरु गरिएको योजनाले मूर्तता पाउन नसकेको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि कोसी नदीमा छठपूजा गर्ने श्रद्धालुहरुले आफ्नो आस्थाको केन्द्र निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आएका छन् ।

जनप्रतिनिधिको अघिल्लो कार्यकालमा १ नम्बर वडाले १ लाख रुपैयाँ कम्पाउण्ड वालका लागि बजेट विनियोजन गरेको थियो ।  प्रदेश सरकारले छठघाट निर्माणका लागि गत वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको थियो । क्रमागत तर न्यून बजेटका कारण सूर्यनारायण मन्दिर निर्माण सुरु गर्ने योजना वर्षौं बितिसक्दा पनि सुरु गर्न नसकिएको मञ्चका अध्यक्ष साहले बताए ।

वराहक्षेत्र गाविस रहँदा क्रमागत योजनाका रुपमा १० हजार विनियोजन गरी छठपूजा व्यवस्थापन गर्ने काम सुरु गरिएको थियो । वराहक्षेत्र नगरपालिका भएपछि छठपूजा व्यवस्थापनका लागि बजेट क्रमागत रुपमा विनियोजन भइरहेको छ । तर त्यो पर्याप्त छैन ।

सप्तकोसी नदीमा निर्माणाधीन झोलुङ्गे पुल सम्पन्न भइसकेपछि कोसी वारिपारि नै छठघाट निर्माण गर्ने योजना रहेको अध्यक्ष साहले बताए । अध्यक्ष साहले वराहक्षेत्र नगरपालिका भरिका र धरान आसपासका  श्रद्धालुसमेतलाई छठपर्वका अवसरमा सप्तकोसी नदीमा सूर्य उपासना र पूजाअर्चना गर्ने वातावरण मिलाउने योजना रहेको छ ।
'सप्तकोसी नदीमा छठपूजा गर्नु धार्मिक महत्वका दृष्टिले समेत लाभकारी छ,'अध्यक्ष साहले भने, 'आगामी वर्ष छठपूजालाई थप व्यवस्थित बनाउँदै लाने योजना छ ।'