वराहक्षेत्रमा पन्ध्र दिवसीय वृहत् पदयात्रा आयोजना हुने भएको छ । आगामी कार्तिक २४ गतेदेखि सुरु गरिने बृहत् परिक्रमाका लागि जगदगुरु बालसन्तले आगामी २२ गते प्राचीन हरिद्वार चतराधाममा उपस्थित हुन भक्तजनलाई आह्वान गरेका छन् ।


महाकुम्भ मेला लक्षित जगदगुरु बालसन्तले वृहत्तर वराहक्षेत्रको वृहत् पदयात्रा आयोजना गरिने भएकाले सबै भक्तजनलाई उपस्थितिका लागि अनुरोध गरेका हुन् । जगदगुरुपीठ चतराधाममा आज मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अनन्त श्री विभूषित जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले बृहत् परिक्रमाबारे जानकारी गराए ।

आगामी कार्तिक २४ गते बिहान प्रात: कालमा चतरा धामबाट पदयात्रा सुरु गरी सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोसी नदीकिनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । २५ गते बिहान मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने छ ।
२६ गते पदयात्रा त्रिवेणीधाम पुग्नेछ । २७ गते सफाइटार कामान्चल पर्वतस्थित शिव पान्चायन मन्दिर पुग्नेछ । २८ गते मूलघाट विश्रान्तिधाम पुग्नेछ । धनकुटाको बेलहरा, सागुरी गढी, नमस्ते झरना हुँदै कार्कीछाप- भेडेटार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।

पदयात्रा धरानको शिवजट्टाधाम- वसुधाराधाममा मङ्सिर १ गते आइपुग्नेछ । मङ्सिर २ गते बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरको दर्शन गरिने छ । मङ्सिर ३ गते तरहारा- इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर पदयात्रा आइपुग्नेछ ।
मङ्सिर ४ गते पदयात्रा रामधुनीधाम आइपुग्नेछ । पदयात्राले रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा गर्नेछ । त्यसपछि पदयात्रा प्रकाशपुर, राजाबास, सालबनी आइपुग्नेछ ।
मङ्सिर ६ गते पदयात्रा शक्ररुद्र तीर्थ चक्रघट्टी आइपुग्नेछ । मङ्सिर ७ गते चतराधाम हुँदै ८ गते बराहक्षेत्र पुगेर वराह भगवानको गर्भगृहको दर्शनका लागि पदयात्रा पुग्नेछ ।

पदयात्राका क्रममा जगदगुरु पिठ र स्थानीय आयोजकले महाप्रसादको प्रबन्ध गर्ने जगदगुरु बालसन्तले जानकारी दिए । उनले आफूलाई आवश्यक पर्ने ओढ्ने-ओछ्याउने भने आफैं व्यवस्था गर्न आग्रह गरेका छन् । चतराधाममा पूर्ण महाकुम्भ मेला आगामी २०८० चैत्र २७ गतेदेखि  २०८१ वैशाख अक्षय तृतीयासम्म लाग्दैछ । महाकुम्भलक्षित पदयात्राले भक्तजनलाई सहभागिताको आमन्त्रणसमेत गर्नेछ ।