धरान । नेपाल सरकारको आधिकारिक निकाय चलचित्र विकास बोर्डसँग सहमति गरी सुरु भएको चलचित्र छायाङ्कन निर्माणस्थल (फिल्मसिटी) को योजना वराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले तुहाइदिएका छन् ।

२५ सय बिघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई लिजमा दिने निर्णय गरेपछि विवादमा परेका नगरप्रमुख कार्कीले फिल्मसिटीका लागि जग्गा दिने विषयमा समेत उदासिन बन्दा सरकारले छुट्याएको बजेटसमेत फ्रिज भएको छ ।

चलचित्रकर्मी महासङ्घका पदाधिकारीहरूले फिल्मसिटीका विषयमा छलफल गर्न खोज्दा नगरप्रमुख कार्कीले भेट गर्नसमेत नमानेको बताएका छन् । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की सरकारले फिल्मसिटीका लागि डीपीआर र कार्यप्रारम्भका लागि दुई शीर्षकमा १ करोड ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । वराहक्षेत्रका तत्कालीन नगर प्रमुख निलम खनालको कार्यकालमा चलचित्रकर्मी महासङ्घ प्रदेश नं. १ सँग कोशी टप्पुको चिलैयास्थित जग्गा छायाङ्कनस्थल (फिल्मसिटी) का लागि प्रयोग गर्ने सहमति भएको थियो । सहमतिपछि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।

हाल वराहक्षेत्र नगरप्रमुख कार्कीले सहमति कार्यान्वयनका लागि उदासिनता देखाएपछि प्रदेश सरकारको बजेट ‘फ्रिज’ भएको चलचित्रकर्मीको आरोप छ । गत कात्तिक १७ गतेसम्म काम गरिसक्नु पर्ने भए पनि नगरप्रमुख कार्कीले चलचित्रकर्मी महासङ्घसँग बैठक बस्न आलटाल गरेको महासङ्घका अध्यक्ष अरुण प्रधानले बताए । ‘समय लिएर दुई पटकसम्म बैठकका लागि गयौँ, तर मेयर सा’वले समय दिनुभएन, उहाँको मनसाय के हो ? बुझ्न सकिएन’ अध्यक्ष प्रधानले भने, ‘अन्य साथीहरूसँग जग्गा उपलब्ध गराउने भन्नुभएको रहेछ, मसँग आलटाल गरिरहनुभएको छ ।’ महासङ्घले बजेट थमौतीका लागि प्रदेश सरकारसमक्ष निवेदन दिएको अध्यक्ष प्रधानले बताए । सुरुवातमा झापाका लागि पहल गरिएको ‘फिल्मसिटी’ को योजना तत्कालीन वराहक्षेत्र नगरप्रमुख खनालले सकारात्मक भूमिका खेलेकाले वराहक्षेत्र लगिएको अध्यक्ष प्रधानले बताए । हालका नगरप्रमुख कार्कीले जग्गाको विषयमा ‘ज’ पनि नबोल्ने ब्लाष्टसँगको फोन सम्पर्कमा बताए । उनले चलचित्रकर्मीहरू छलफल गर्न आएको थाहा नभएको बताए । ‘एक पटक हामीले २५ सय बिघा ९९ वर्षका लागि झण्डै बेच्यौँ नि, त्यस्तो भइहाल्छ नि फेरि, मेयरहरूले बेच्यो नि अस्ति, त्यस्तै हुनसक्छ’ नगरप्रमुख कार्कीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘नबेच्ने हामी अहिले ।’

नगरप्रमुख कार्कीले माथिबाटै तोक लगाएर काम गर्न चलचित्रकर्मीलाई आग्रह गरे । उनले चलचित्र छायाङ्कनका लागि जग्गा उपलब्ध नगराउने आशय व्यक्त गर्दै भने, ‘माथिबाटै तोक लगाएर आउनुहुन्छ भने काम गर्नुहुन्छ, नगरपालिकाले केही गर्न सक्दैन ।’ चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष दयाराम दाहालको कार्यकालमा चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो । गठित समितिले अध्ययनपश्चात् वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा अवस्थित श्रीलङ्का टप्पुलाई छायाङ्कनस्थलका रूपमा तय गरेको थियो । वराहक्षेत्रका तत्कालीन नगर प्रमुख खनालले समेत निर्धारित जग्गा छायाङ्कनस्थलका रूपमा विकास गर्न सहमति प्रदान गरेका थिए । तत्कालीन १ नं. प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको कार्यकालमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रकुमार पौडेलको उपस्थितिमा समेत वराहक्षेत्र छायाङ्कनस्थलका लागि उपयुक्त भएको ठहर गरी सहयोग गर्ने निर्णय भएको थियो ।

कोशी गाउँपालिकामा लाने तयारी
वराहक्षेत्र नगरप्रमुखले चलचित्र छायाङ्कनस्थलको गरिमा बुझ्न नसक्दा वराहक्षेत्रमा योजना कार्यान्वयन नै नहुने देखिएको छ । चलचित्रकर्मीहरूले वराहक्षेत्रमा योजना नहुने भए तत्कालै अर्कै स्थान छनोट गरी बजेट कार्यान्वयनमा लाने तयारी गर्ने मनसाय बनाएका छन् । स्रोतका अनुसार वराहक्षेत्रमा योजना असफल हुँदा नजिकैको स्थानीय तह कोशी गाउँपालिकासँग समन्वय भइरहेको छ । पूर्वका संस्कार, संस्कृति, जाति, चालचलन र मनोविज्ञानलाई चलचित्रमा उतार्नका लागि आवश्यक छायाङ्कनस्थल सरकारले नै निर्माण गर्ने भएपछि उत्साह छाएको थियो । गौरवको कार्यका रूपमा वराहक्षेत्रले समेत हेरेको चलचित्र छायाङ्कनस्थलको मर्म वर्तमान नगरप्रमुखले नबुझ्दा योजना अन्तै जान सक्ने स्थानीय चलचित्रकर्मीले गुनासो गरेका छन् । 

राजनीतिक दलको चासो
वराहक्षेत्रका राजनीतिक दलले चलचित्र छायाङ्कनस्थलले वराहक्षेत्र नगरपालिकाको पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । स्थानीय सरकारले यसको गरिमा बुझ्नुपर्ने दलका नेताहरूको भनाइ छ । नेकपा (एमाले) का कोशी प्रदेश कमिटी सदस्य तथा वराहक्षेत्र सचिव राजेन्द्र कार्कीले प्रदेश सरकारमा आफूले समेत ‘इनिसिएसन’ लिएको बताए । ‘झापा कचनकवलतिर छायाङ्कनस्थल जाने वाला थियो, हाम्रो पहलमा वराहक्षेत्रलाई छनोट गरिएको थियो’ ‘एमाले नेता कार्कीले भने, ‘वराहक्षेत्र पर्यटकीय नगरका रूपमा विकास भइरहेको छ । चलचित्र नगरीका रूपमा समेत विकास हुने कुराले आम जनतामा उत्साह थपिएको थियो ।’

एमाले नेता कार्कीले स्थानीय सरकारले ‘फिल्मसिटी’ को महत्व बुझ्नुपर्ने सुझाव दिएका छन् । नेकपा (माओवादी केन्द्र) का वराहक्षेत्र नगर सचिवालय सदस्य लङ्कमान विकले चलचित्र क्षेत्रले वराहक्षेत्रलाई छायाङ्कनस्थलका रूपमा छान्नु नै वराहक्षेत्रका लागि गौरवको कुरा भएको बताए । ‘यो वराहक्षेत्रको गौरवको कुरा हो, चलचित्र क्षेत्रले वराहक्षेत्रलाई छायाङ्कनस्थलका रूपमा रोज्नु नै हाम्रो लागि अति उत्तम कुरा हो, यो लायकको ठाउँ हो भनेर उहाँहरूले पनि छान्नुभएको होला’ सचिवालय सदस्य विकले भने, ‘यहाँ यो भन्दा अघि पनि विभिन्न चलचित्रका सुटिङ भएका थिए । यहाँ छायाङ्कन भएका चलचित्रहरू राम्रा पनि बनेका छन् । छायाङ्कनस्थल वराहक्षेत्रको चिनारी पनि हुनसक्छ ।’ उनले स्थानीय सरकारले चलचित्र क्षेत्रसँग समन्वय गर्नुपर्ने बताए । ‘राजनीतिक दलले सहमति दिँदै गर्दा स्थानीय सरकारले चलचित्र क्षेत्रलाई प्रोत्साहन दिनुपर्छ ।’ नेपाली काङ्ग्रेस वराहक्षेत्रका सचिव हरिकृष्ण भट्टराई स्थानीय सरकार नमाने माथिल्लो निकायमा जान चलचित्रकर्मीहरूलाई सुझाव दिएका छन् । राम्रो कामका लागि राम्रो ठाउँमा विकास हुँदा स्थानीय क्षेत्रको समेत महत्व बढ्ने उनले बताए । ‘वराहक्षेत्रमा विकासका काम हुनुपर्छ भन्ने पक्षको मान्छे हुँ म’–सचिव भट्टराईले भने ।