विजयपुर । धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
मञ्चका अध्यक्ष किशोर राईका अनुसार वार्षिक कार्यक्रमअन्तर्गत धरानका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई आगामी १२ असोजमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । शनिबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका खेलाडीलाई सम्मान गर्ने जानकारी दिएको हो ।
मञ्चले धरानका चर्चित १० खेलाडीमध्ये ‘धरान स्पोर्ट्स पब्लिक च्वाइस’मार्फत पहिलो, दोस्रो र तेस्रो स्थान छनोट गर्ने जनाएको छ। खेलाडीले प्राप्त गर्ने मतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरी पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, धरानका खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलकुदसँग सम्बन्धित अन्य व्यक्तिलाई रोजगारी र व्यवसायीकरणसँग जोड्ने उद्देश्यसमेत मञ्चले अघि सारेको अध्यक्ष राईले बताए। स्थानीय तह, सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई धरानको विकासको महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य रहेको मञ्चले जनाएको छ। मञ्चले खेलाडीको क्षमता विकास तथा दीर्घकालीन खेलकुद विकासमा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।