कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३२ औ राष्ट्रिय कविता महोत्सवमा आयोजित कविता प्रतियोगितामा सुनसरीका भीम विरही राई प्रथम भएका छन् । 

उनले 'म पहिला मरूँ कि मेरो देश' शीर्षकको कविता वाचन गरेका थिए । उनले नगद २१ हजार रुपैयाँ र प्रमाणपत्र पाए । आइतबार धरान–१८ स्थित पुस्तकालयमा सम्पन्न प्रतियोगितामा दोस्रो पुरस्कार काठमाडौंकी एलिसा एकलास र तेस्रो पुरस्कार भारतको सिक्किमकी सन्ध्या सिङ्जाङ्गो सुब्बाले जिते । 

दोस्रो हुने एलिसाले नगद १८ हजार र तेस्रो हुने सन्ध्याले नगद १७ हजार र प्रमाणपत्र पाए । विजेताहरुलाई प्रमुख अतिथि कवि जसराज किराँती, कार्यक्रमका सभापति तथा पुस्तकालय सञ्चालक समिति अध्यक्ष पूर्णबहादुर गुरुङलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 

प्रतियोगितामा उत्कृष्ट १० मा परेका कविहरुले कविता वाचन गरेका थिए । प्रतियोगितामा अविनाश भट्टराईको ‘आवाजहरु ! ओ आवाजहरु’, अजित वियोगीको ‘म त्यही छोडिए छु’, एलिसा एकलासको ‘वेवारिसे प्रश्न’, छविना लुङ्गेली मगरको ‘मजदुर’, निशान निष्कर्षको ‘स्वतन्त्रताको एउटा अध्याय’, भीम विरही राईको ‘पहिला म मरू या मेरो देश?’, मौलश्री लिम्बूको ‘बुख्याँचा’, वीरेन्द्र ग्यावा तामाङको ‘इजार’, सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ र भोजराज श्रेष्ठको ‘यो साइनो कस्तो?’ कविता उत्कृष्ट १० छनोट भएका थिए । 

प्रतियोगिताका लागि ७४ कविता प्राप्त भएका थिए । विमल कृति पुरस्कार गुरुङ र वान्तवालाई कवि चन्द्र गुरुङ र विजय वान्तवा कैलासीलाई संयुक्त रुपमा यस वर्षको कवि विमल गुरुङ कृति पुरस्कार प्रदान गरिएको छ । 

आइतबार कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान– १८ ले कवि विमल गुरुङको ५२ औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको कृति पुरस्कार अर्पण तथा ३२ औैं राष्ट्रिय कविता महोत्सव समारोहमा गोरखाका गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ र भारत मिरिकका कैलासीको उपन्यास मिथ्याङ्सलाई संयुक्त रुपमा नगद २ लाख बराबरको पुरस्कार प्रदान गरिएको हो । 

त्यसैगरी भारतको कालिम्पोङ निवासी कवि विशाल नाल्बोलाई नगद १० हजार सहित यस वर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा विमलको कविता संग्रह सहरको प्रगाढ मौनता र शब्द चित्रमा कवि विमल गुरुङ लोकार्पण कृति लोकार्पण गरिएको छ । 

कवि बम देवानले कवि विमल गुरुङको विषयमा प्रकाश पारेको कार्यक्रममा भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपाने, कवि शशी लुमुम्बूलगायत उपस्थित थिए । 

कार्यक्रममा पुस्तकालयकी कोषाध्यक्ष शान्ति गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।