पाँचथर (ब्लाष्ट) पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सञ्चालित पुरुष नकआउट खुल्ला प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । शुक्रबार गाउँपालिकाको फाक्तेपमा भएको फाइनल खेलमा अभ्यास अनुभव एन्ड कन्ट्रक्सन प्रालि फाल्गुनन्दलाई २–० ले हराउँदै साझा युवा क्लब कुम्मायकले उपाधि उचालेको हो ।
कुम्मायकलाई उपाधि दिलाउन खेलको अन्तिम समयमा निर्देश राई र दिलकुमार सम्बाहाङ्फेले गोल गरेका थिए । अभ्यासले पाएका महत्त्वपूर्ण अवसर गुमाउँदा उपविजेतामै चित्त बुझायो । उपाधिसँगै कुम्मायकले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको अभ्यासले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्यो ।
व्यक्तिगत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता साझा युवा क्लबका दिलकुमार सम्बाहाङ्फे, उत्कृष्ट खेलाडी हेमन्त दर्नाल घोषित हुँदै नगद, ट्रफी र प्रमाण–पत्र हात पारे । त्यस्तै अभ्यासका बेष्ट किपर एहाङ लिम्बू घोषित भए ।
प्रतियोगिताको विजेता टोलीलाई गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बे र कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले पुरस्कार वितरण गरेका थिए । त्यस्तै उपविजेता टोलीलाई फाल्गुनन्द–४ र ५ का वडाध्यक्ष दलप्रसाद नेम्वाङ र विष्णुकुमार चेम्जोङले पुरस्कार प्रदान गरेका थिए । कात्तिक १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँचथर र इलामसहित ३० टिम सहभागी रहेका थिए । प्रतियोगिता हाङ पृथीसिंह युवा क्लबले आयोजना गरेको थियो ।