घरेलु समर्थकको उत्साहलाई निराशामा परिवर्तन गर्दै वराह-११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बराहक्षेत्र गोल्डकपको तेस्रो संस्करणको उपाधिबाट बन्चित भएको छ ।

वराह-११ पराजित हुँदा शान्तिनगर फुटबल क्लब इटहरीले २ लाख रुपैयाँ राशिसहितको  उपाधि हात पारेको छ । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेलमा कर्नर किक पाएको शान्तिनगरका तर्फबाट जर्सी नम्बर १६ लगाएर मैदानमा उत्रिएका म्यान अफ द म्याच एकराज बुढाथोकीले ३० औं मिनेटमा बललाई गोलमा परिणत गरे ।
Barahakshetra Goldcup Chakraghatti1

दोस्रो हाफमा घरेलु मैदानमा समर्थकको हुटिङ पाएको वराह-११ ले खेललाई आफ्नो पक्षमा पारे पनि स्कोरबाट चुकेको थियो । जितका लागि पर्याप्त अवसर खेर फालेको वराह-११ ले प्रतियोगिताको उपविजेताको उपाधिसँगै १ लाख रुपैयाँ नगद प्राप्त गर्यो ।

3rd Barahakshetra Goldcup

विधागत उपाधितर्फ बेस्ट गोल किपर शान्तिनगरका सुजित चौधरी, बेस्ट डिफेन्डर वराह ११ का योगेश राई, बेस्ट मिडफिल्डर वराह ११ का रविन राई, बेस्ट फर्वर्ड सौर्य राउत, हाइ स्कोरर वराह ११ का आकाश राई, राइजिङ प्लेयर चक्रघट्टी फुटबल क्लब कोलन कार्की, बेस्ट कोच शान्तिनगरका जुनिम राई घोषित भए । त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट वराह-११ का भीम विक घोषित भए ।

उपविजेता वराह-११ लाई नगर उपप्रमुख नन्दकुमारी सुनुवार र खेलकुद विकास समिति संयोजक तथा वराहक्षेत्र-७ का वडाध्यक्ष कपिल आचार्यले उपाधि हस्तान्तरण गरे ।

Barahakshetra Goldcup Chakraghatti2

विजेता शान्तिनगरलाई नगर प्रमुख रमेश कार्की र
स्पोन्सर सिजी ग्रुपका प्रतिनिधि नवराज भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । आज सोमबार प्रतियोगिताको फाइनल खेल हेर्न चक्रघट्टीस्थित महेन्द्र माविको खेल मैदानमा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । 
Barahakshetra Goldcup Chakraghatti