काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले ऊर्जा क्षेत्रको समग्र विकास र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन् । बर्षायाममा बढी बिजुली उत्पादन हुने र हिउँदमा एक तिहाईमात्रै उत्पादन भई असन्तुलित रहेको अवस्थालाई ख्याल गरेर जलाशय र अर्धजलाशयुत्तः प्रकृतिका आयोजना निर्माणलाई जोड दिइएको उनको भनाइ छ । 

प्रस्तावित विधेयकमा ठूला विद्युत् आयोजना सङ्घीय सरकारले, २५ मेगावाटसम्मका आयोजना प्रदेश सरकार र पाँच मेगावाटसम्मका आयोजना स्थानीय सरकारले अगाडि बढाउने गरी प्रस्ताव गरिएको मन्त्री बस्नेतको भनाइ छ ।