विराटनगर । पानी तान्ने मोटरको केही मिटर तामाको तार चोरी गरेको आरोप, बजारमा फैलिएको बदनामी र त्यसैको प्रतिशोधमा रचिएको हत्या योजना । विराटनगरमा चार दशकदेखि ब्याट्रीको कारोबार गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या प्रकरणको पृष्ठभूमिमा यही विवाद देखिएको छ ।
प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणअनुसार, आफूलाई ‘चोर’ भनेर बेइज्जत गरेको रिसमा छिमेकी व्यवसायी अफरोज आलमले गुप्तालाई घरमा खाना खान बोलाएर मदिरा सेवन गराई बियरको बोतल तथा फलामको पाइपले प्रहार गरी हत्या गरे । त्यसपछि शव कार्पेट र बोरामा बेरेर सिटी सफारीमा राखी खोलामा फालिएको प्रहरीको भनाइ छ ।
कात्तिक ६ गते शुक्रबार साँझको घटना हो यो । विराटनगर महानगरपालिका-६ स्वागत चोकका ३६ वर्षीय आलमले छिमेकी ब्याट्री व्यवसायी गुप्तालाई आफ्नो घरमा खाना खान निम्तो दिएका थिए । लामो समयदेखि विराटनगरमा व्यापार गर्दै आएका गुप्ताले छिमेकीको निम्तोमा कुनै शङ्का गरेनन् । तर, त्यही निम्तो उनको जीवनको अन्तिम यात्रा बन्यो ।
प्रहरीका अनुसार, घरमा दुवैले मदिरा सेवन गरेका थिए । त्यही क्रममा पुरानो विवाद फेरि बल्झियो । भनाभन चर्किएपछि आलमले बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरे । त्यसपछि फलामको रड र जीआई पाइपले टाउको तथा शरीरमा प्रहार गरे । गम्भीर चोट लागेका गुप्ताको घटनास्थलमै मृत्यु भयो ।
हत्या गरेपछि शव कसरी लुकाउने भन्ने चुनौती आलमसामु थियो । उनले रातभर शव घरमै राखे । भोलिपल्ट कार्पेटमा बेरेर जुटको बोराभित्र राखे र शव व्यवस्थापनमा दुई नाबालकको सहयोग लिए । शवलाई सिटी सफारीमा राखेर विराटनगरबाट पश्चिम सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केसलिया खोला किनारमा लगेर फालियो ।
घटनाको अनुसन्धान गर्दै गएको सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मुख्य अभियुक्त आलमसहित शव व्यवस्थापनमा संलग्न रहेको आरोपमा दुई नाबालकलाई पक्राउ गरेपछि हत्याको घटनाक्रम सार्वजनिक भएको हो ।
विवादको जरोः तार चोरीको आरोप
प्रहरी अनुसन्धानअनुसार हत्याको पृष्ठभूमिमा केही दिनअघिको चोरीको विवाद जोडिएको छ । विराटनगर-६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी भएको थियो । उक्त तार आलमले चोरी गरेको भन्दै गुप्ताले बजारमा चर्चा चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्ले जानकारी दिए ।
“व्यापारिक समुदायमा आफूलाई ‘चोर’ को आरोप लगाएर बेइज्जत गरेको भन्दै आलम गुप्तासँग असन्तुष्ट थिए । त्यही अपमानको बदला लिने उद्देश्यले हत्या योजना बनाएको देखिन्छ”-एसपी मल्ले भने ।
“आफूलाई चोरको आरोप लगाएर बजारमा हल्ला फैलाइदिएको प्रतिशोध साध्न आलमले योजनाबद्ध रूपमा गुप्ताको हत्या गरेको देखिन्छ” एसपी मल्ल भन्छन्, “हत्या आकस्मिक नभई पूर्वयोजनाअनुसार घरमा बोलाएर गरिएको अनुसन्धानबाट खुलेको छ ।”
प्रहरीका अनुसार, चोरीको आरोप र त्यसबाट उत्पन्न विवादले दुई व्यवसायीबीचको सम्बन्ध बिगारेको थियो । यही विवादलाई आलमले हत्याको कारण बनाएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) स्थायी घर भएका गुप्ताले विगत ४० वर्षदेखि विराटनगर-६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए । परिवार बाहिर रहेकाले उनी विराटनगर-११ अल्कामार्गमा डेरा गरी एक्लै बस्दै आएका थिए ।
प्रहरी अनुसन्धानअनुसार, कात्तिक ६ गते दिउँसो ३ बजेर ५७ मिनेटमा पसल बन्द गरेर निस्किएका गुप्तालाई आलमले साँझ घरमा खाना खान बोलाएका थिए । त्यहाँ खाना र मदिरासँगै पुरानो विवाद पनि फेरि उठ्यो । मदिरा सेवनका क्रममा विवाद चर्किएपछि आलमले टेबलमा रहेको बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरे । त्यसपछि घरमा रहेको फलामको रड र जीआई पाइपले प्रहार गरेको प्रहरीको भनाइ छ । गम्भीर चोट लागेका गुप्ताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।
रातभर शव घरमै, भोलिपल्ट खोलामा
हत्या गरेपछि आलमले शव लुकाउने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले शवलाई सुरुमा कोठाको कार्पेटले बेरे र त्यसपछि जुटको बोराभित्र राखे । भोलिपल्ट कात्तिक ७ गते शव खोलासम्म पुर्याउन दुई नाबालकको सहयोग लिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका नाबालकमध्ये एक जना १६ वर्षीय नेपाली र अर्का १३ वर्षीय भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । उनीहरूको सहयोगमा शवलाई भाडाको सिटी सफारीमा राखेर विराटनगरबाट करिब तीन किलोमिटर पश्चिम सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केसलिया खोला किनारमा पुर्याई फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शव बोक्न प्रयोग गरिएको सिटी सफारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्या र शव व्यवस्थापनमा मुख्य अभियुक्तको भूमिका तथा नाबालकहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कात्तिक ८ गते आइतबार बिहान करिब १० बजे स्थानीयवासीले केसलिया खोला किनारमा शङ्कास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै एसपी मल्लको नेतृत्वमा अपराधस्थल अनुसन्धानमा खटिने विशेषज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । बोरा खोलेर हेर्दा गुप्ताको शव फेला परेको थियो ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीको संयुक्त टोलीले अनुसन्धान अघि बढायो । प्राविधिक अनुसन्धान, कल डिटेल रेकर्ड (सीडीआर) र गोप्य सूचनाका आधारमा प्रहरी मुख्य अभियुक्त आलमसम्म पुग्न सफल भएको जनाइएको छ ।
प्रहरीले कात्तिक १० गते साँझ करिब ६ बजे आलमलाई पक्राउ गरेको थियो । उनको साथबाट हत्यामा प्रयोग भएको भनिएको एक थान जीआई पाइप, मृतक गुप्ताको रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी मल्लका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । घटनामा नाबालकहरूको भूमिका, हत्या योजनाको विस्तृत विवरण र शव व्यवस्थापनमा प्रयोग गरिएको सिटी सफारीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

































